अमेरिकी ‘प्याट्रियट’ अभावका बिच युक्रेनमा रुसको व्यापक आक्रमण, १८ जनाको मृत्यु

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

रुसले सोमबार रातभर युक्रेनमा हवाई आक्रमण गर्यो । आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु र दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीले जनाएका छन् । रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा थप प्याट्रियट मिसाइल पठाउन आग्रह गरेका छन् ।

युक्रेनी वायुसेनाका अनुसार रुसले सोमबार रातभर युक्रेनमा ७३ वटा मिसाइल र ६५६ वटा ड्रोन प्रहार गरेको जनाएको छ । तिनमा आठ ‘हाइपरसोनिक सिरकोन मिसाइल’समेत समावेश थिए । आक्रमणको मुख्य निसाना राजधानी किभलगायत मध्यक्षेत्रमा रहेका सहरहरू निप्रो, जापोरिझिया र पूर्वी भेका सहरहरू पोल्टाभा र खार्किभ थिए ।

आक्रमणपछि सामाजिक सञ्जालमा लेख्दै जेलेन्स्कीले भनेका छन्, ‘यदि हामीलाई ब्यालिस्टिक तथा अन्य क्षेप्यास्त्र आक्रमणबाट सुरक्षित गरिएन भने थप आक्रमण जारी रहनेछ ।’

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी ‘प्याट्रियट’ मिसाइल इन्टरसेप्टरहरू सकिएको बताउँदै आएका छन् । प्याट्रियट द्रुत गतिमा चल्ने ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न सक्षम एक मात्र वायु रक्षा प्रणाली हो । गत साता जेलेन्स्कीले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र कंग्रेसलाई सहयोगको अपिल गर्दै पत्र लेखेका थिए । पत्रमा उनले प्याट्रियटहरूलाई मानव जीवन बचाउन ‘महत्वपूर्ण उपकरण’को रूपमा वर्णन गरे । प्याट्रियट नभएकाले अहिले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग बढेको उनले बताए । यद्यपि, अहिलेसम्म, ट्रम्प प्रशासनले जेलेन्स्कीको अग्रहलाई बेवास्ता गरेको छ । जबकि फेब्रुअरीमा इरानविरुद्ध अमेरिका–इजरायलले युद्ध सुरु गरेपछि अमेरिकाले सयौँ दुर्लभ तथा महँगो प्याट्रियट मिसाइल प्रयोगमा ल्याएको थियो ।

पछिल्लो समय युक्रेनले लामो दूरीको ड्रोनहरूमार्फत रुसभित्रका तेल प्रशोधन केन्द्रदेखि बन्दरगाहसम्मलाई निसाना बनाइरहेको छ । युक्रेनको रुसी भूमिभित्र बढ्दो रूपमा सफल हवाई अभियानका कारण रुसको युद्धमोर्चामा गति नै रोकिएको विश्लेषण भइरहेको छ । यहाँसम्म कि युक्रेनले दक्षिणी युक्रेनलाई क्रिमियासँग जोड्ने महत्वपूर्ण भूमिमार्गमा समेत प्रहार गर्न सफल भएको छ ।

See More On

सुझावित समाचार