गत कात्तिकमा भएको सम्झौताअनुसारको न्यूनतम पारिश्रमिक नपाएपछि पोखरा– ९, नयाँ बजारस्थित गण्डकी मेडिकल कलेजमा कार्यरत स्वास्थ्य कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्। सरकारसँग गत १५ कात्तिकमा भएको सम्झौताअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन्।
कलेजबाट ब्यानर र प्लेकार्डसहित गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय पुगेका कर्मचारीले आफ्नो मागसहितको पत्रसमेत बुझाएका छन्। सम्झौताअनुसार नेपाल सरकारको पाँचौँ तहसरहको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० हुनुपर्नेमा सोअनुसारको पारिश्रमिक नपाएको भन्दै रेडियोलोजी, ल्याब, दन्त, फार्मेसी, सिएमए, फिजियोथेरापीलगायत विभागका कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्।
गत १५ कात्तिकको सम्झौतापछि तय भएको पारिश्रमिक कात्तिक महिनादेखि नै लागू हुने भनिएकोमा हालसम्म नपाएको उनीहरूको गुनासो छ। मागपत्रमा अधिकार माग्न गरिएको कार्यलाई प्रशासनले प्रतिशोधका रूपमा लिन नहुने, राजीनामा दिएर जाने क्रममा कुनै पनि किसिमका बाधा गर्ने वा अनुभव पत्र दिने वेलामा अल्झाउन नपाइने, सामाजिक सुरक्षा कोष वा सञ्चय कोष न्यूनतम पारिश्रमिकबाट निर्धारण नगरी छुट्टै व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। आफूहरूले कुनै किसिमको विरोध र अवरोध नभई अधिकारको खोजी मात्र गरेकाले आन्दोलनलाई एउटा प्रक्रियाको बाटाको रूपमा मात्र लिनुपर्ने उनीहरूले प्रस्ट पारेका छन्।
माग सुनुवाइ नभए थप आन्दोलनको चेतावनी
आन्दोलन सुरु गरेका कर्मचारीहरूले आफूहरूको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसअघि प्रशासनलाई पत्रमार्फत पटक-पटक सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको कर्मचारीहरूको भनाइ छ।
गत कात्तिकदेखि नै सरकारले तोकेको न्यूनतम पारिश्रमिक मासिक ३४ हजार ७३० पाउनुपर्नेमा कलेजले जम्मा १९ हजार ३०० रुपैयाँ मात्र दिँदै आएको उनीहरूको भनाइ छ।