पुराना एल्बमका पाना पल्टाउँदा फोटो पत्रकार मीनरत्न बज्राचार्य गणतन्त्रका लागि लडेका ती दिनमा पुग्छन् । कहीँ धुवाँ छ । कहीँ भिड । कहीँ नाराबाजी । कहीँ लाठीचार्ज । ती दृश्य उनले क्यामेरामा कैद गरिरहे ।
एल्बमका पाना पल्टाउँदै मीनरत्न २०४६ को जनआन्दोलनका दिनमा पुग्छन् । त्यस वेला सडक दुई धारमा बाँडिएको थियो । एकातिर पञ्चायती सत्ता, अर्कोतिर परिवर्तन खोज्ने जनता । ती दिन सम्झिँदै उनी भन्छन्, ‘त्यो वेला अनुभवको कमी थियो । अस्ट्रेलियामा पाएको एक्स्पोजरले फोटो पत्रकारिता बुझ्न मद्दत गर्यो । आँखा चिम्लेर काममा लागियो ।’
२०४६ को आन्दोलनका दिनमा घरबाट निस्कँदा कहाँ जाने भन्ने निश्चित हुँदैनथ्यो । साँझ घर आउने टुंगो थिएन । साथीहरूको घरमा रात बित्थ्यो । उनी भन्छन्, ‘आन्दोलनको रिपोर्टिङ गर्नु त्यतिवेला अत्यन्त जोखिमपूर्ण काम थियो । फोटो खिच्न सजिलो थिएन । कहिले गल्लीमा लुकेर बस्नुपर्थ्यो । कहिले प्रहरीले लखेट्थ्यो । घरबाट निस्किँदा कतै पक्राउ परिएला कि भन्ने डर भइरहन्थ्यो । त्यो समय प्रहरीले क्यामेरा खोस्ने र फोटो नष्ट गर्ने मुख्य डर हुन्थ्यो ।’
मीनरत्नलाई व्यक्तिले भन्दा ‘मास’ले आकर्षक बनाउँथ्यो । उनले नेताको अनुहारभन्दा जनताको ऊर्जा खोजे । ढुंगा फ्याँकिरहेको व्यक्तिको अनुहार होइन, त्यसले बनाएको प्रतिरोधको दृश्य खिच्ने कोसिस गरे । ‘म मानिसको अनुहारभन्दा आन्दोलनको भावना खिच्थेँ,’ उनी भन्छन् ।
त्यसैले, उनका धेरैजसो तस्बिरमा भिड छ । मानिसको समुद्र । उत्साह । क्रोध । आशा । कसैको अनुहार अनावश्यक एक्सपोज नहोस् भन्नेमा उनी सचेत थिए । त्यो समयमा सामाजिक सञ्जाल थिएन । भोलिपल्टै तस्बिर भाइरल हुने डर पनि थिएन । तर, राज्यको नजर थियो ।
०४६ को फोटो खिच्दा...
२०४६ चैत २४ को आन्दोलन उनको स्मृतिमा अझै ताजा छ । त्यो दिन भक्तपुर र ललितपुरबाट बिहानैदेखि मानिस नाराबाजी गर्दै सडकमा उत्रिएका थिए । उनी सम्झन्छन्, ‘दरबार क्षेत्रलाई मात्रै कडा सुरक्षा दिइएको थियो । नारायणहिटी दरबार वरिपरि सेना तैनाथ थियो ।’
भक्तपुर र ललितपुरबाट जनसागर दरबारतिर बढिरहेको थियो । दरबार क्षेत्र सैनिक घेराभित्र थियो । तनाव बढ्दै थियो । उनी क्यामेरा बोकेर अगाडि बढ्न खोजिरहेका थिए । त्यही वेला कसैले चेतावनी दियो, ‘अगाडि नजाऊ, अवस्था धेरै खतरनाक भइसक्यो ।’
त्यो वाक्यले उनी झस्किए । एउटा रातो घरमा चढेर उनले दृश्य खिचे । तल सडकमा भिड थियो । लाठीचार्ज थियो । भागदौड थियो ।
चैत २७ गते बिहान काठमाडौंको अवस्था सामान्य थिएन । भित्री गल्ली, चोक र सडक मानिसले भरिएका थिए । रातभरको राजनीतिक हलचलपछि मानिसहरू घरबाट निस्किसकेका थिए । कसैले अबिर छर्किरहेका थिए, कसैले ‘जिन्दावाद’, ‘मुर्दावाद’ भनिरहेका थिए । तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्था स्वीकार गरेको घोषणा गरे । तीन दशक लामो पञ्चायती व्यवस्थाविरुद्ध सडकमा उत्रिएका जनताले त्यसलाई आफ्नै विजयका रूपमा लिए । तर, त्यो उत्सव सहज परिस्थितिमा आएको थिएन । देशभर कर्फ्यु जारी नै थियो । आन्दोलन दबाउन सुरक्षाकर्मीले गोली चलाएका थिए, धेरै घाइते भएका थिए, केहीले ज्यान गुमाइसकेका थिए । त्यसैले जनतामा डरभन्दा आक्रोश र उत्साह बढी देखिन्थ्यो । कर्फ्यु तोडेर मानिसहरू सडकमा उत्रिरहेका थिए ।
त्यही भिडबिच क्यामेरा बोकेर हिँडिरहेका थिए मीनरत्न । इन्द्रचोकस्थित आफ्नै घरबाट निस्कँदा मीनरत्नको योजना थियो– जनआन्दोलनका कमान्डर गणेशमान सिंहको तस्बिर कैद गर्ने । तर, उनी लागे, ललितपुरको बखुण्डोलतिर । त्यहाँ आन्दोलनका अर्का शीर्ष नेता कृष्णप्रसाद भट्टराईको निवास थियो । बखुन्डोल पुग्दा त्यहाँ पनि बाक्लो भिड थियो । घरभित्र र बाहिर भइरहेका दृश्य उनले खिचे । जब उनी बाहिर निस्किए, काठमाडौंका सडक पूरै मानिसले भरिइसकेका थिए । सडकभर आन्दोलनकारीका तस्बिर खिच्दै उनी वीर अस्पताल पुगे । अस्पताल परिसरमा पत्रकार, राजनीतिक नेता र कार्यकर्ताको बाक्लो भिड थियो । उनले गणेशमान सिंह र मनमोहन अधिकारीको तस्बिीर कैद गरे ।
खुलामञ्चतिर बगिरहेको जनसागर पछ्याए । मानिसको भिड कमिलाको लस्करझैँ खुलामञ्चतिर अघि बढिरहेको थियो । मीनरत्न त्यो भिडसँग हिँड्दै दृश्य कैद गरिरहेका थिए । साँझ ४ बजेदेखि खुलामञ्चमा दलहरूको विजयसभा सुरु भयो । मीनरत्नले कहिले मञ्चतिर लेन्स सोझ्याए, कहिले विशाल जनसागरतिर ।
जनसागरमा उफ्रिँदै एउटी युवती बारम्बार चिच्याइरहेकी थिइन्– प्रजातन्त्र जिन्दावाद । उनले युवतीको तस्बिर खिचे । ती युवती थिइन्, दुर्गा थापा । ‘दुई–तीन क्लिक मात्रै गर्न पाएँ,’ उनी भन्छन्, ‘अरूले पनि खिचिरहेका थिए, पछि उनको तस्बिर २०४६ को जनआन्दोलनको आइकोनिक तस्बिर बन्यो । पछि दुर्गा रहिछन् भनेर थाहा भयो ।’
त्यो समय उनी कुनै पनि मिडियामा काम गर्दैनथे । फ्रिलान्सर भएर फोटो खिचिरेहका थिए । फोटो कहिले छापिन्छ निश्चित थिएन । ‘नेगेटिभ जोगाउनु थियो । किनकि, त्यो केवल तस्बिर थिएन । त्यो प्रमाण थियो । समयको साक्षी थियो ।’
०६२/६३ जनआन्दोलनको फोटो खिच्दा
आन्दोलनपछि पनि मीनरत्नले निरन्तर फोटो खिचिरहे । काठमाडौंको टुँडीखेल राजनीतिक इतिहासका धेरै निर्णायक क्षणको साक्षी बनेको छ । ०५२ सालतिर भएको एमालेको विशाल आमसभामा पनि मानिस उर्लिएका थिए । त्यो भिडको बिचमा फेरि क्यामेरा बोकेर उभिएका थिए, उनी ।
सभामा पार्टीका झन्डा, नाराबाजी र राजनीतिक उत्साहले भरिएको वातावरण थियो । मीनरत्नले त्यहाँ केवल मञ्चमा उभिएका नेता मात्रै खिचेनन्, आन्दोलनको ऊर्जा बोकेको भिडलाई पनि आफ्नो फ्रेममा समेटे । स्लोगन लेखिएका ब्यानर, हात उठाएर नारा लगाइरहेका जनताको सामूहिकता उनका तस्बिरमा देखिन्छन् ।
०५२ सालपछि देशको राजनीति फेरि अस्थिर मोडतिर गयो । आन्दोलन, विरोधसभा र सडक प्रदर्शन राजधानीको नियमित दृश्यजस्तै बन्न थाले । मीनरत्न भने हिँडिनै रहे । राजनीतिक आन्दोलनका क्रममा उनले विभिन्न दलका नेता, विद्यार्थी र कार्यकर्ताका अनेक दृश्य कैद गरे । माधव नेपाल, सुवास नेम्बाङ, ईश्वर पोखरेललगायत नेता आन्दोलनका बिच सडकमा उभिएका दृश्य उनका क्यामेरामा सुरक्षित छन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरे । ‘कु’ विरुद्ध संयुक्त आन्दोलन सुरु भयो । त्यो भीडको बीचमा फेरि क्यामेरा बोकेर उभिए, उनी । ०६२ र ६३ को दोस्रो जनआन्दोलनले काठमाडौंलाई फेरि एकपटक विशाल प्रतिरोधको सहरमा बदलिदियो । विशेषगरी, खुलामञ्च आसपास उनले खिचेका तस्बिर अहिले पनि एल्बममा सुरक्षित छन् । सडकमा उत्रिएका प्रदर्शनकारी, सुरक्षाकर्मीको घेराबन्दी, नारा र प्रतिरोधका दृश्यहरू उनका तस्बिरमा जीवन्त छन् ।
सडकमा नाराबाजी, भागदौड, सुरक्षाकर्मीको बलप्रयोग र भिडको बेचैनी उनले लेन्समा कैद गरे । ‘कहिले विद्यार्थीको साइडबाट खिच्नुपर्थ्यो, कहिले प्रहरीले लाठीचार्ज गरिरहेको ठाउँबाट’, उनी सम्झन्छन् । १९ दिने जनआन्दोलनको अन्तिम दिनको दृश्य उनलाई अझै सम्झना छ । काठमाडौंका सडक मानिसले भरिएका थिए । जताततै मानिसको भिड देखिन्थ्यो । त्यो दृश्यलाई उनले क्यामेरामा कैद गरे ।
०६२–०६३ को जनआन्दोलन चर्किंदै जाँदा दृश्य पनि फेरिन थाले । मीनरत्न सम्झन्छन्, ‘माओवादी कार्यकर्ता आन्दोलनमा आउँदा धेरैजसोले हरियो घाँस बोकेका हुन्थे । त्यो दृश्य केवल दृश्यात्मक प्रतीक मात्र थिएन, राजनीतिक संकेत पनि थियो ।’
०४६ को आन्दोलनमा उनी जोस देख्थे । विश्वास देख्थे । त्याग देख्थे । ०६२–६३ पछि दृश्य फेरिएको थियो । पत्रकार धेरै भए । क्यामेरा धेरै भए । नेताहरू पनि क्यामेरासँग परिचित भइसकेका थिए । ‘पछि आन्दोलनमा पनि नक्कल गरेजस्तो देखिन्थ्यो,’ उनी भन्छन्,’ ‘कसैले क्यामेरा देख्यो कि मुठी कस्ने । नारालाई अझ चर्को बनाउने । नाटकीय मुद्रा दिने गर्न थाले ।’
उनका अनुसार पत्रकार प्रत्यक्ष आक्रमणको जोखिममा पनि परे ।