गणतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन ल्याउनु हो : मुख्यमन्त्री बानियाँ

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तन मात्रै पर्याप्त नभएको उल्लेख गर्दै जनताको जीवनस्तर सुधारमार्फत गणतन्त्रको वास्तविक अनुभूति गराउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले विगतका राजनीतिक अभ्यासका कमजोरी र त्रुटिबाट शिक्षा लिएर नागरिक अधिकार, सुशासन र विकासका सवालमा अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए । ‘गणतन्त्रको सार भनेको नागरिकको सम्मान, अवसर र सहभागिता सुनिश्चित गर्नु हो,’ उनले भने, ‘व्यवस्था परिवर्तनसँगै जनताको जीवनमा परिवर्तन ल्याउन सकेनौँ भने उपलब्धिको अर्थ अधुरो हुन्छ ।’

उनले पछिल्लो समय विशेषगरी युवापुस्तामा बढ्दो असन्तुष्टि, निराशा र राजनीतिक व्यवस्थाप्रतिको अविश्वासलाई गम्भीर रूपमा लिनुपर्ने बताए । केही उपलब्धि नै नभएको जस्तो भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसलाई तथ्य र काममार्फत चिर्न आवश्यक रहेको बताए ।

‘राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहार, कार्यशैली र कमजोर कार्यसम्पादनका कारण जनतामा वितृष्णा बढेको हो,’ उनले भने, ‘तर, त्यसलाई बहाना बनाएर संघीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने खेल भइरहेको छ, जुन चिन्ताजनक छ ।’

‘संघीयताको रक्षा अहिलेको प्रमुख चुनौती’
मुख्यमन्त्री बानियाँले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन र संरक्षण अहिलेको प्रमुख राजनीतिक चुनौती भएको बताए । संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै जनतासम्म सेवा र विकासको अनुभूति पुर्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले वर्तमान राजनीतिक अवस्थाप्रति सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघीयताको सफलताका लागि केन्द्र, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।

‘संघीयता केवल संरचना होइन, यो जनताको अधिकारसँग जोडिएको व्यवस्था हो,’ उनले भने, ‘यसलाई सफल बनाउन जिम्मेवार राजनीतिक संस्कार, पारदर्शिता र जनउत्तरदायी शासन आवश्यक पर्छ ।’

‘विकास केवल सडक र भवन होइन’

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारको आगामी कार्यदिशा जनमुखी, आयमुखी, गरिबमुखी र विकासमुखी हुने बताए । विकासलाई केवल सडक, भवन र भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र मानव विकाससँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

सुझावित समाचार