लामो समयदेखि ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी ओलीमाथि उच्च नैतिक दबाब परेको छ । शुक्रबार सचिवालय बैठकमै चर्काचर्की, आरोप–प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्रको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक मोडतर्फ प्रवेश गरेको मानिएको छ । एकपछि अर्को नेताले राजीनामा मागेपछि ओली बैठकका आक्रोशित बनेका थिए ।
चार उपाध्यक्षले चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न भन्दै अध्यक्ष ओलीले राजीनामा गर्नुपर्ने माग गरेका छन् । ‘पुरानै शैलीले अब पार्टी बच्दैन’ भन्ने इतर समूहका नेता वा तल्लो तहका कार्यकर्ताको सोचमा ओली पक्षधर नेताहरू नै उभिएका छन् । यसले आगामी केही समय एमालेभित्रको शक्ति–संघर्ष थप पेचिलो हुने देखिएको छ ।
करिब ६ घण्टा चलेको बैठकमा लगातार उठेको पुनर्गठन र नेतृत्व परिवर्तनको बहसले एमालेभित्र गम्भीर ध्रुवीकरण जन्माएको मात्र छैन, लामो समयदेखि दबिएको असन्तुष्टि अब खुला विद्रोहमा बदलिएको छ । पार्टी र आन्दोलन संकटमा परेको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिई पार्टी पुनर्गठनको ढोका खोल्न उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले ओलीसँग माग गरे । जबकि पाँचमध्ये पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मात्र ओलीले राजीनामा दिनुपर्ने कुनै कारण नै नरहेको भन्दै नेतृत्वको प्रतिरक्षा गरेका थिए ।
उपाध्यक्ष पौडेलसहित पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी वहन गर्दै नेतृत्व परिवर्तनका लागि मार्ग खुला गर्नुपर्ने धारणा राख्दै राजीनामाको माग गरेका छन् । उनीहरूले पार्टीलाई वर्तमान संकटबाट बाहिर निकाल्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक परे आफूहरूसमेत जिम्मेवारी त्याग्न तयार रहेको संकेत दिएका छन् ।
महासचिव शंकर पोखरेल पनि पुनर्गठनकै पक्षमा रहेका कारण ध्रुवीकरण अझ सघन रूपमा अघि बढ्ने बलियो सम्भावना देखिएको छ । शनिबार महासचिव पोखरेलसहित उपमहासचिव र सचिवहरूले धारणा राख्नेछन् । बैठकमा ११ एजेन्डा छन् ।
उपाध्यक्षहरूले २१ फागुनको चुनावमा पार्टीले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टीलाई पुनर्गठनको दिशामा लैजान आफूहरू तयार रहेको घोषणासमेत गरेका छन् । राजीनामा माग्ने पौडेल ओलीको विश्वासपात्रमध्ये एक हुन् । अर्का उपाध्यक्ष गुरुङले पनि सातौँ महाधिवेशनयता निरन्तर ओलीको निकटस्थ सारथि बनेर निरन्तर साथ दिँदै आएका थिए ।
‘परिस्थितिको मूल्यांकन गरेर आ–आफ्नो जिम्मेवारीको समीक्षा गरी पार्टी पुनर्गठनको ढोका खोल्ने काम अध्यक्षबाट सुरु गरौँ । हामी पनि आ–आफ्नो जिम्मेवारीको समीक्षा गरी पुनर्गठनको ढोका खोल्न तयार छौँ,’ उपाध्यक्षहरूको भनाइको सार उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘पार्टीलाई पुनर्गठनको दिशामा लैजानुपर्ने भएकाले अहिले कार्यविभाजनको विषयमा छलफल गर्नुपर्ने र त्यतातिर विशेष जोड दिनुपर्ने खास अर्थ छैन ।’
लगातार राजीनामाको प्रसंग आएपछि बैठकको बिचमै आक्रोशित देखिएका ओलीले राजीनामा नदिने अडान राखे । साथै पार्टीको नीति र नेतृत्वविरुद्ध बोलेर विपक्षीलाई बल पुर्याउनेहरूलाई कुनै पनि जिम्मेवारी नदिइने बताएर अघोषित रूपमा कारबाहीको कडा चेतावनी दिएका छन् ।
राजीनामा र पुनर्गठनको विषयबाट उपाध्यक्षहरूलाई विषयान्तर गराउने प्रयास भएपछि उपाध्यक्ष गुरुङले पार्टीमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको र अहिलेसम्म अनेकन योगदान गरेरै पदाधिकारी तहसम्म आएकाले नधम्क्याउन भन्दै सजग गराएका थिए । गुरुङले जवाफ फर्काएपछि उनीहरूबिच केहीबेर नोकझोँक देखिने गरी सवाल–जवाफ नै चलेको एक नेताले बताए ।
‘तपाईंले कसलाई धम्क्याएको ? के एमाले तपाईंको मात्र पार्टी हो ? के गर्न सक्नुहुन्छ ल गरेर देखाउनुस्,’ कडा स्वरमा चर्किएका गुरुङको जवाफ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘आजको एमाले तपाईंको योगदानबाट, तपाईंले मात्र बनाएको पार्टी हो कि, हाम्रो पनि उस्तै भूमिका छ ?’ गुरुङ प्रतिवादमा उत्रेपछि अरू नेताहरूको समेत आग्रहमा ओली केही मत्थर सुनिएका थिए ।
त्यसअघि ओलीले ‘पार्टीमा राम्रो र उपयुक्त जिम्मेवारी चाहिने भए पार्टी नीति, पार्टी हित र नेतृत्वको रक्षाका पक्षमा आवाज उठाउन र परिस्थितिको सही मूल्यांकन गरेर संकटबाट पार लगाउने भूमिका खेल्नुपर्ने’ धारणा राखेका थिए । बैठकपछि उपमहासचिव लेखराज भट्टले पनि बैठकभित्र अध्यक्ष ओलीसँग उपाध्यक्षहरूको सवाल–जवाफ चलेको संकेत गरे ।
‘उपाध्यक्षहरूले लामो–लामो स्पष्टसँग विचार राख्नुभो, कतिपय सवालमा बिचबिचमा अध्यक्षले सपोर्ट गर्दै प्रस्ट्याउने काम पनि गर्नुभो,’ भट्टले भने, ‘सचिवालयमा छलफल यसरी लामो चलेको बैठकै पहिलोपटक होला । सबैले राम्रोसँग आफ्नो विचार प्रस्टसँग राख्नुभएको छ ।’
बैठकमा ओलीले उपाध्यक्षहरूलाई विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाएका थिए । सचिव खगराज अधिकारीले सबै नेताहरू जिम्मेवार र अनुशासित ढंगले चल्नुपर्ने विचार अध्यक्षले राखेको जानकारी दिँदै सामूहिक विचार र सुझावका आधार पार्टीलाई बलियो र एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको बताए ।
‘सबैको रायअनुसार म अघि बढ्छु भन्ने अध्यक्षको मत छ । तर, सबै नेताहरू अनुशासित हुनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘अहिले देशमा संकट छ । राष्ट्रियतामाथि र आन्दोलनमाथि नै ठुलो संकट पैदा भएको छ । यो वेला पार्टी वैचारिक र सांगठनिक रूपले अझ स्पष्ट र एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’ पार्टीलाई कसरी अगाडि लैजाने विषयमा निर्क्योल भएपछि मात्र कसले कुन जिम्मेवारी लिने कार्यविभाजनको विषयमा प्रवेश भएर निर्णय लिइने अधिकारीले बताए ।
उपाध्यक्षहरूले पार्टीको समग्र विषय र निर्वाचनको समीक्षालाई दुई भागमा राखेर धारणा राखेको जानकारी दिँदै उपाध्यक्ष भट्टले शनिबार चल्ने बैठकमा बाँकी १२ नेताहरूले बोल्ने क्रम सुरु हुने बताए । उनले कार्यविभाजनका विषयमा सुझावलाई आधार मानेर केही संशोधन हुन सक्ने पनि बताए ।
बैठकमा बोल्नेमध्येका एक उपाध्यक्षले ओलीलाई सबै विकल्पका लागि तयार हुन सन्देश दिने गरी राजीनामाको मुद्दा उठाएको बताए । ‘देशैभरि कार्यकर्ताको सन्देश नै पार्टीलाई पुनर्गठनको दिशामा लगेर पहिलेकै अवस्थामा फर्काउनुपर्छ र सुरुवात माथिबाटै हुनुपर्छ भन्ने बलियो आवाज छ, त्यसैले हामी उपाध्यक्षहरूले त्यही कुरालाई खुलस्त रूपमा बैठकमा राखेर कुनै न कुनै रूपमा पुनर्गठनतिर लैजानुपर्ने धारणा राखेका हौँ,’ ती उपाध्यक्षले भने, ‘तर, अध्यक्ष अलिक कडै हुनुहुन्छ, हतपत विषय बुझेर तयार भइहाल्नुहोला जस्तो त देखिनुहुन्न । जे भए पनि बैठक सकिँदासम्म कुनै न कुनै विन्दुमा एउटा समझदारीतिर पुग्नुपर्ने अवस्था देखिन्छ ।’
ओलीको चेतावनीमा गुरुङको प्रतिवाद
लगातार राजीनामाको प्रसंग आएपछि बैठकको बिचमै आक्रोशित देखिएका ओलीले राजीनामा नदिने अडान राखे । साथै, पार्टीको नीति र नेतृत्वविरुद्ध बोलेर विपक्षीलाई बल पुर्याउनेहरूलाई कुनै पनि जिम्मेवारी नदिइने बताएर अघोषित रूपमा कारबाहीको कडा चेतावनी दिएका छन् ।
ओलीले ‘पार्टीमा राम्रो र उपयुक्त जिम्मेवारी चाहिने भए पार्टी नीति, पार्टी हित र नेतृत्वको रक्षाका पक्षमा आवाज उठाउन र परिस्थितिको सही मूल्यांकन गरेर संकटबाट पार लगाउने भूमिका खेल्नुपर्ने’ धारणा राखेका थिए ।
राजीनामा र पुनर्गठनको विषयबाट उपाध्यक्षहरूलाई विषयान्तर गराउने प्रयास भएपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको र अहिलेसम्म अनेकन् योगदान गरेरै पदाधिकारी तहसम्म आएकाले नधम्क्याउन भन्दै सजग गराएका थिए ।
गुरुङले जवाफ फर्काएपछि उनीहरूबिच केहीबेर नोकझोँक देखिने गरी सवाल–जवाफ नै चलेको एक नेताले बताए । ‘तपाईंले कसलाई धम्क्याएको ? के एमाले तपाईंको मात्र पार्टी हो ? के गर्न सक्नुहुन्छ ल गरेर देखाउनुस्,’ कडा स्वरमा चर्किएका गुरुङको जवाफ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘आजको एमाले तपाईंको योगदानबाट, तपाईंले मात्र बनाएको पार्टी हो कि, हाम्रो पनि उस्तै भूमिका छ ?’ गुरुङ प्रतिवादमा उत्रेपछि अरू नेताहरूको समेत आग्रहमा ओली केही मत्थर सुनिएका थिए ।