आइसिसी वरीयतामा भुर्तेलको १७ स्थान सुधार

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण
  • एकदिवसीय ब्याटिङ वरीयतामा एकैपटक १७ स्थान सुधार गर्दै नेपालका ओपनर कुशल भुर्तेल सय स्थानमा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सबै फर्म्याटका वरीयता सार्वजनिक गरेको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एकदिवसीय ब्याटिङ वरीयतामा एकैपटक १७ स्थान सुधार गर्दै शीर्ष सयभित्र आफूलाई समावेश गरेका छन् । गत साता पनि आइसिसी एकदिवसीय वरीयतामा आसिफ शेख र दीपेन्द्रसिंह ऐरी शीर्ष सयभित्र अटेका थिए । 

त्रिवि क्रिकेट मैदानमा चलिरहेको आइसिसी विश्वकप लिग २ मा कुशलले अमेरिकाविरुद्धको खेलमा शतकीय इनिङ्स खेलेका थिए । यही शतकको मद्दतमा कुशलले वरीयतामा सुधार गरेका हुन् । उनले गत वैशाखमा ओमान र युएईसँगको विश्वकप लिग २ सिरिजमा दुई खेल खेल्न पाएनन् । त्यसपछि प्रशिक्षक स्टुवार्ट लले उनलाई स्कटल्यान्ड र अमेरिकाविरुद्धको पहिलो खेलमा राखेनन् । 

तर, कुशलले दोस्रो खेलमा मौका पाउँदा शतक नै बनाए । कुशलले ३८२ रेटिङ अंक जोडेका छन् । एकदिवसीय ब्याटिङमा आसिफ शेखले सात स्थान सुधार गरेका छन् । उनी अहिले ८७औँ स्थानमा छन् । उनले ४२० रेटिङ अंक पाएका छन् । यस फर्म्याटमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी ९९औँ स्थानमै रहे । 

ललित र सन्दीपले स्थान सुधारे
नेपालका स्पिनर ललित राजवंशीले एकदिवसीय बलिङमा १६ स्थान सुधार गरेका छन् । ललित अहिले ५४औँ स्थानमा छन् । उनले ४७१ रेटिङ अंक बटुलेका छन् । चालू विश्वकप लिग २ मा उनले अमेरिका र स्कटल्यान्डविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेका छन् । यसैगरी, एकदिवसीय इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेटको विश्वकीर्तिमान राखेका नेपालका सन्दीप लामिछानेले ६ स्थान सुधार गरेका छन् । 

अस्ट्रेलियाका तीव्र गतिका बलर स्टार्कले ७७ खेल र सन्दीपले ७३ खेलमा १५० विकेट लिएका छन् । आइसिसी एकदिवसीय बलिङ वरीयतामा सन्दीप ३७ स्थानमा पुगेका छन् । उनीभन्दा एक स्थानमुनि दक्षिण अफ्रिकाका कागिसो राबाडा छन् । यसैगरी पाकिस्तानका फास्ट बलर नसिम साह ४३औँ स्थानमा छन् । स्कटल्यान्डसँगको विकेट लिँदै सन्दीपले ७३ खेलमा १५० विकेट संख्या पूरा गरेका थिए । उनले अस्ट्रेलियन मिचेल स्टार्कको नाममा रहेको रेकर्ड तोडेका हुन् । दीपेन्द्रसिंह बलिङ वरीयतामा ७९औँ स्थानमा पुगेका छन् । उनले तीन स्थान सुधार गरेका हुन् । करण केसी भने आठ स्थान ओरालो लागेका छन् । उनी अहिले ९६औँ स्थानमा छन् । 

अलराउन्डरमा तीन स्थानमाथि दीपेन्द्र
एकदिवसीय अलराउन्डरमा दीपेन्द्र २५औँ स्थानमा छन् । उनले तीन स्थान सुधार गरेका हुन् । टी–२० अलराउन्डरमा उनी चौथो स्थानमै छन् । एकदिवसीय अलराउन्डरमा सन्दीपले पनि तीन स्थान सुधार गरी ६८औँ स्थानमाथि कब्जा जमाए । यस विधामा ललितले १२ स्थान सुधार गरेका छन् । उनी अहिले ७४औँ स्थानमा रहे । यसैगरी गुल्सन झाले पनि एकदिवसीय अलराउन्डरमा फड्को मारेका छन् । उनले एकैपटक १५ स्थान सुधार गरे । उनी अहिले ८७औँ स्थानमा रहे । नेपालका करणले यस विधामा पाँच स्थान गुमाए । 

सुझावित समाचार