कांग्रेसमा गुटबन्दी तीव्र : एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन । संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन् । दुवै पक्षले प्रदेशस्तरीय भेला गरिरहेका छन् । संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेशस्तरीय भेला सुरु गरेका हुन् । प्रदेश भेला जारी नै छ ।

इतर पक्षले कोशीबाट देशव्यापी प्रदेशस्तरीय युवा भेला पनि गर्दै छ । भ्रातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ । संस्थापन पक्षलाई दबाब दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढेको इतर पक्षका एक नेताले बताए । ‘पार्टी एकताबद्ध होस् भन्ने हाम्रो कुरा हो । यदि, एकता हुन सकेन भने नयाँ ढंगले जानुपर्ने हुन्छ । सबै विकल्पमा तयार छौँ,’ ती नेताले भने ।

१५औँ महाधिवेशनको निष्पक्षताका लागि साझा संयन्त्र बनाउनुपर्ने इतर पक्षको मुख्य माग छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । इतर पक्षका नेता प्रकाशशरण महत पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए । तर, त्यसका लागि जिम्मेवारी लिएका नेताहरू गम्भीर बन्नुपर्ने उनले बताए । ‘पार्टीलाई एकता बनाउनुपर्छ{ भन्नेमा छौँ । विशेष महाधिवेशनमा एउटा पक्ष बाहिरै थियो भन्ने तथ्य बिर्सनुहुँदैन । १५औँ महाधिवेशन कसरी निष्पक्ष हुन्छ भन्ने नै मुख्य कुरा हो । त्यसका लागि साझा संयन्त्र बनाएर जान सकिन्छ । जिम्मेवारी लिएका साथीहरूले सोच्नुपर्ने कुरा छ,’ उनले भने ।

संस्थापन पक्ष महाधिवेशनको तयारीमा लाग्दै गर्दा इतर पक्षले सदस्यता अद्यावधिक नगर्न आह्वान नै गरेको छ । साझा संयन्त्रमार्फत अघि नबढे छुट्टै महाधिवेशन गर्ने इतर पक्षको चेतावनी छ । संस्थापन पक्षले सदस्यता अद्यावधिकको समय २१ जेठसम्म थपेको छ । वैशाख मसान्तसम्म समय तोकिएकोमा अद्यावधिकको काम नसकिएपछि समय थपिएको हो ।

सभापति गगन थापाले सबैलार्ई समेटेर जान आफू तयार रहेको बताउँदै १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि बढ्न तयार रहेको सार्वजनिक अपिल गरेका छन् ।

महाधिवेशनको तयारी, निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति र अनुशासन समितिमा पनि सबै पक्षलाई समेटेर जान तयार रहेको उनले बताएका छन् । तर, त्यसका लागि सदस्यता अद्यावधिक गर्नुपर्ने थापाको सर्त छ ।

तर, इतर पक्ष १५औँ महाधिवेशनका लागि भनेर क्रियाशील नवीकरण गरिसकेको अवस्थामा फेरि सोही महाधिवेशनका लागि दोहोर्याएर गर्नुनपर्ने अडानमा छ । ‘उहाँ नै महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक भएको वेला नवीकरण गरिएको क्रियाशील सदस्यता अहिले फेरि किन अद्यावधिक गरिराख्नुपर्यो ?’ महतले प्रश्न गरे ।

कोइराला पक्षको काठमाडौंमा भएको भेलाले पनि १५औँ महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण गरिसकेको भन्दै क्रियाशील अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अद्यावधिकको समय २१ जेठसम्म थपेको छ । देशभरबाट अद्यावधिकको काम भइरहेको समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले बताए ।

देउवा समूहको सम्पर्क कार्यालय अनामनगरमा
कांग्रेस इतर पक्षले गतिविधिलाई व्यवस्थित गर्न भन्दै अनामनगरमा सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ । देशभरका नेता तथा कार्यकर्ताको सम्पर्कका लागि कार्यालय स्थापना गरिएको नेता कुन्दनराज काफ्लेले बताए ।

सुझावित समाचार