चितवनमा जंगली च्याउ खाँदा बिरामी भएकी मनिताको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

चितवनको इच्छाकामना गाउँपालिका– १, कुलबाङमा जंगली च्याउ पकाएर खाँदा बिरामी परेकी थप एक बालिकाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ । मंगलबार बिहान १३ वर्षीया मनिता चेपाङको पनि मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

यसअघि नाै वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको थियो । उनीहरू सबैजना एउटै परिवारका दाजुभाइ–दिदीबहिनी हुन् । चितवन प्रहरीका अनुसार जेठ १ गते नमुनाको घरमै मृत्यु भएको थियो भने सञ्जयको शनिबार राति भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो 

गत वैशाख २९ गते स्थानीय श्यामबहादुर चेपाङको परिवारले जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएका थिए । त्यसपछि परिवारका सदस्य बिरामी परेका थिए । सुरुमा सामान्य स्वास्थ्य समस्या देखिए पनि अवस्था गम्भीर बन्दै गएपछि तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिरामी भएपछि उनीहरूलाई स्थानीय काउले स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । अवस्था जटिल बनेपछि भरतपुर अस्पताल रेफर गरिएको थियो ।

मृतक नमुना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए । घटनापछि कुलबाङ गाउँ शोकमा डुबेको छ । दुई बालबालिकाको दाहसंस्कार सम्पन्न भइसकेको छ भने आइतबार मृत्यु भएकी मनिताको शव बुझ्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार