सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीविरुद्ध उजुरी आह्वान गरेको छ । यसका लागि १० दिनको समय छुट्याइएको छ ।
सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी दिन सकिनेछ । समितिले आफ्नो कार्यविधिमा सुनुवाइका लागि सिफारिस व्यक्तिउपर जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने प्रावधान राखेको छ ।
कार्यविधिअनुसार शर्माविरुद्ध ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी पठाउन सकिने सभापति श्रेष्ठले बताए । ‘सिडिओ कार्यालयलाई उजुरी संकलन केन्द्रको रूपमा तोकेका छौँ,’ उनले भने ।
सिंहदरबारस्थित समितिको सचिवालयमा सिधै पनि उजुरी दिन सकिनेछ । त्यस्तै, विद्युतीय माध्यमबाट र खामबन्दी गरेर पनि सिंहदरबारमा उजुरी पठाउन सकिनेछ । नाम खुलाएर वा बेनामे उजुरी पनि दिन सकिने सभापति श्रेष्ठले बताए ।