आजको २१औँ शताब्दीको विश्वले प्रविधिको विकासमा जतिजति छलाङ मार्दै छ, उतिउति मानव जीवन सरल, सहज र सुविधायुक्त बन्दै छ । संसारका हरेक सूचना, मनोरञ्जन र ज्ञानका अजस्र स्रोत त्यही सानो स्मार्ट फोनमा अटेका छन् । हातमा एउटा स्मार्ट फोन भएपछि कोठामै बसीबसी संसार विचरण गर्न सकिने भएको छ । तर, त्यही प्रविधि हामीमध्ये कतिपयका लागि टाउको दुखाइको विषय पनि बन्न थालेको छ । अभिभावकहरू भनिरहेका छन्– स्मार्ट फोनमा जतिखेर पनि झुम्मिएर बालबालिकाले पढ्न छाडे । उनीहरूको सिर्जनशीलता मर्दै गयो । बालबालिका एकोहोरो बन्दै गए । उनीहरूमा सामाजिक अन्तर्क्रिया कम हुन थाल्यो । शारीरिक खेलभन्दा डिजिटल खेलमा बालबालिका ज्यादा रमाउन थाले । के बालबालिकालाई स्मार्ट फोन दिनु साँच्चिकै टाउको दुखाइको विषय हो ? के स्मार्ट फोनले बालबालिकाको सिर्जनशीलता घट्छ ? के उनीहरूमा सामाजिक अन्तर्क्रिया स्मार्ट फोनकै कारण घटेको हो ? के उनीहरूले त्यसैका कारण पढ्न छाडेका हुन् ?
बालबालिकामा स्मार्ट फोनको आकर्षण
इटरनेटको सहयोगमा कम्प्युटरले गर्नेजति लगभग सबै र कम्प्युटरले गर्न नसक्ने पनि थुप्रै काम गर्न सक्ने फोन नै स्मार्ट फोन हो । छोटकरीमा भन्ने हो भने खल्तीमा बोक्न सकिने अत्याधुनिक कम्प्युटर हो स्मार्ट फोन ।
कुनै नौलो कुरा देख्नासाथ आकर्षित हुनु बालबालिकाको स्वभाव नै हो । मानव मस्तिष्कले जहिल्यै नयाँनयाँ कुरा सिक्न र अनुभव गर्न चाहन्छ । त्यसैले नयाँनयाँ कुरा सिक्ने उमेरका बालबालिकालाई स्मार्ट फोन नदिनु भनेको प्रकृतिको नियमविरुद्ध जानु हो भन्छन् ‘शून्यको मूल्य’, ‘स्वस्पर्श’ जस्ता पुस्तकका लेखक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसी । डा. केसीका अनुसार बालबालिकालाई स्मार्ट फोन दिनुपर्छ, तर उनीहरूलाई कति समयका लागि दिने र कुन–कुन कुरा हेर्न दिने भन्ने पाटो बढी महत्वपूर्ण हुन्छ ।
स्मार्ट फोनको डिजाइन नै प्रयोगकर्ता (जुनसुकै उमेरका)लाई आकर्षित गर्न सक्ने गरी गरिएको हुन्छ । विभिन्न आकर्षक ‘फिचर्स’का कारण बालबालिकालाई स्मार्ट फोन बढी नै मन पर्छ । यसमा बालबालिकाले आआफ्नो रुचिअनुसारका सामग्री हेर्न र प्रयोग गर्न सक्छन् । स्मार्ट फोनमा पाइने एनिमेसन, आवाज, दृश्य, रङ आदिले बालबालिकालाई मात्र नभई जोकोहीलाई आकर्षित गर्न सक्छ । एकै ठाउँमा बसेर आफूले चाहेजस्ता सामग्री हेर्न, चाहेका डिजिटल खेल खेल्न, विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्न र साथीहरूसँग भर्चुअल कुराकानी गर्न सकिने हुनाले पनि स्मार्ट फोन बालबालिकाका लागि आकर्षणको केन्द्र बनेको हो । फेरि अहिलेका बालबालिकालाई घरबाहिर निस्केर खेल्ने र साथी बनाउने स्थान र अवसर दुवैको अभाव छ । घरमा पनि परिवारका सदस्यहरू काममै व्यस्त हुने हुँदा उनीहरूले अन्तर्क्रिया गर्ने, कथा सुन्ने र खेल्ने साथी नपाउने अवस्था छ । अभिभावकहरू घरमै भएको वेलामा पनि उनीहरू स्वयं स्मार्ट फोनमा व्यस्त भइदिँदा बालबालिका पनि त्यसैतर्फ आकर्षित हुनु स्वाभाविकै हो । आमाबाबुको व्यस्त दैनिकीले गर्दा बालबालिकालाई स्मार्ट फोन दिएर घरमै अड्याउनु उनीहरूको बाध्यता पनि बनेको छ ।
फेरि बालबालिकाले घरमा मात्र स्मार्ट फोन प्रयोग गरेको देख्ने हुन् र ? स्कुल जाँदा शिक्षकहरूले पनि फोन नै प्रयोग गर्छन् । अझ कतिपय शिक्षकले गृहकार्यका प्रश्न पनि फोनमै पठाइदिन्छन् । बजार, बस, पार्क, होटेल जहाँजहाँ पुगे पनि सबैले फोन नै चलाइरहेको देखेर हुर्किरहेका जिज्ञासु उमेरका बालबालिकाचाहिँ कसरी अलग बसून् त स्मार्ट फोनबाट ?
बाबुआमाको गुनासो
सुरुसुरुमा जानेर या नजानेर बालबालिकामा स्मार्ट फोनको ‘लत’ लगाइदिने बाबुआमा नै हुन् । उनीहरूले आफ्नो बाध्यताले गर्दा पनि बालबालिकालाई फोनको जिम्मा लगाए । बालबालिकाले त्यसमा के–के हेरे ? कति समयसम्म हेरे ? कोकोसँग के–के कुराकानी गरे ? कस्ता–कस्ता डिजिटल खेलहरू खेले ? कस्ता–कस्ता एप्लिकेसन चलाए ? स्कुलको गृहकार्य गरे कि गरेनन् ? पढ्न दिएका सामग्री पढे कि पढेनन् ? बाबुआमालाई यसबारे ध्यान दिने फुर्सद भएन । सायद उनीहरूले यसतर्फ ध्यान दिन आवश्यक पनि ठानेनन् । परिणामतः बिस्तारै बालबालिकामा स्मार्ट फोनको लत बस्यो । जसलाई छुटाउन या रोक्न बाबुआमाले चाहेर पनि नसक्ने अवस्था बन्यो । अनि बल्ल उनीहरू झल्याँस्स बिउँझिए । बिउँझिँदा ढिलो भइसकेको थियो । बालबालिकाको स्मार्ट फोनको प्रयोग उनीहरूको नियन्त्रणबाहिर पुगिसकेको थियो । अनि बल्ल उनीहरूको टाउको दुख्न थाल्यो । टाउकाको दुखाइसँगै उनीहरूका गुनासा पनि बढे ।
बालबालिकालाई स्मार्ट फोन दियो कसले ?
हिजो बालबालिकाले खाना खाएनन् भनेर, घरबाहिर कतै नजाऊन्, घरभित्रै बसिरहून् भनेर स्मार्ट फोन दिएको अरूले होइन, स्वयं बाबुआमाले नै हो । उनीहरूले स्मार्ट फोनमा के हेरे, कतिन्जेल हेरे, पढे कि पढेनन्, गृहकार्य गरे कि गरेनन् भनेर चासो नदिएको पनि स्वयं बाबुआमाले नै हो । ‘आफ्नो व्यस्तताले गर्दा समय दिन नसकेर सानैदेखि स्मार्ट फोन दिने बाबुआमाले अहिले आएर छोराछोरीमा त्यसको लत बस्यो भनेर रोएर हुन्छ ?’ शिक्षाविद् प्राडा. विद्यानाथ कोइराला प्रश्न गर्छन्, ‘बालबालिकालाई स्मार्ट फोनको लत लागेको हो कि लगाइएको हो ? दोषी बच्चा हो कि बाबुआमा ?’
बालबालिकाले आफ्नो वरिपरि जे भेट्छन्, त्यसैसँग खेल्छन्, त्यसैलाई खेलाउँछन् । हामीले सानामा आफ्नो वरिपरि बाख्राका पाठापाठी, गाईका बाच्छाबाच्छी या भैँसीका पाडापाडी देख्यौँ, तिनैसँग खेल्यौँ, तिनैलाई खेलायौँ । बोक्न सक्दा तिनैलाई बोक्यौँ । तिनैसँग कुद्यौँ । अहिलेका बालबालिकाले सानैदेखि आफ्नो वरिपरि स्मार्ट फोन, कम्प्युटर, ल्यापटप देख्छन्, तिनैसँग खेल्छन्, तिनैलाई खेलाउँछन् । प्रविधि च्यापेर हुर्किरहेका बालबालिकाले स्मार्ट फोन नचलाएर के चलाऊन् त ? घरमा हुँदा बाबु एकातिर फर्केर स्मार्ट फोन चलाउने, आमा अर्कातिर फर्केर स्मार्ट फोन नै चलाउने, दाजु, दिदी, काका, काकी जोजो भए पनि सबैले चुपचाप स्मार्ट फोन नै चलाउने गरेको देखेपछि केटोकेटीमा पनि त्यसप्रतिको जिज्ञासा बढ्ने नै भयो । अनि, फोन प्रयोग नगर भन्दैमा मान्लान् त तिनले ? आफूभन्दा ठुलाले एक–आपसमा अन्तर्क्रिया गरेको देख्दै नदेखी हुर्किरहेका बालबालिकाले फोन छाडेर अन्तर्क्रिया गर्लान् त ? घरमा कसैले पनि फोन छाडेर पढेको देख्दै नदेखेका बालबालिकाले त्यसलाई टाढा राखेर पढ्लान् त ?
हिजो हामी कम्युटर देख्दै नदेखी हुर्कियौँ । इन्टरनेटबारे सुन्दै सुनेनौँ । ल्यान्ड लाइन टेलिफोन लिन वर्षौं पालो कुर्नुपर्ने वेलामा स्मार्ट फोनको कल्पनै नगरी हुर्कियौँ । त्यसैले, हामी पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगमा धेरै पछि पर्यौँ । आज हामीमध्ये धेरैलाई कम्प्युटर, ल्यापटप साधारण चलाउन पनि आउँदैन । चलाउँदा आइपर्ने अति सामान्य समस्या पनि समाधान गर्न सक्दैनौँ । स्मार्ट फोन प्रयोग गर्छौं, तर त्यसमा कुनै सानो समस्या आइपरे पनि त्यसको समाधानका लागि आफ्नै बालबालिकाको ‘हेल्प’ लिन्छौँ । हामी प्रविधिको विकासभन्दा धेरै अघि हुर्केका पुस्ता हौँ भने अहिलेका बालबालिका दिनदिनै विकसित भइरहेको प्रविधिसँग अभ्यस्त हुँदै हुर्किरहेको पुस्ता हो । हिजो हामीले कम्प्युटर सिक्न ‘इन्स्टिच्युट’ नै जानुपर्थ्यो । आजका बालबालिका आँखा खोलेदेखि नै त्यसलाई देख्दै र चलाउँदै हुर्केका छन् । अनि, यस्तो पुस्ता, जसलाई हामी ‘जेन अल्फा’ या यस्तै केही नाम दिन्छौँ, उसलाई स्मार्ट फोन चलाउन बन्देज लगाएर सम्भव होला त ?
विकसित देशको अभ्यास
विकसित देशहरूले बालबालिकालाई स्मार्ट फोन प्रयोग गर्न दिनेसम्बन्धी विभिन्न अभ्यास गर्दै आएका छन् । तीमध्ये केही अभ्यासबारे यहाँ चर्चा गरिएको छ ।
अस्ट्रेलिया : अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकाले सामाजिक सञ्जालमा ‘अकाउन्ट’ खोल्न नपाउने कडा कानुन लागू गरेको छ । १० डिसेम्बर सन् २०२५ देखि लागू भएको सो कानुनअनुसार बालबालिकाले अकाउन्ट खोलिहालेमा उनीहरूलाई नभई सम्बन्धित सामाजिक सञ्जालका कम्पनीलाई अधिकतम ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने व्यवस्था छ ।
अमेरिका : अमेरिकामा सानै उमेरदेखि बालबालिकालाई स्मार्ट फोन दिने गरिन्छ । उनीहरूले स्कुल जाँदा पनि त्यसलाई साथमै लान पाउँछन् । तर, स्कुल समयमा भने झोला या लकरमा राख्नुपर्छ । सन् २०२५ को प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार ६८ प्रतिशत अमेरिकी अभिभावक कम्तीमा १२ वर्ष पुगेपछि मात्र बालबालिकालाई स्मार्ट फोन दिनु राम्रो हुने ठान्छन् । ९० प्रतिशत अभिभावकमा बालबालिकाले गलत या अनुपयुक्त सामग्री हेर्न सक्ने चिन्ता देखिन्छ । ६६ प्रतिशत अभिभावक भने बालबालिका हुर्काउन स्मार्ट फोनका कारण सजिलो भएको ठान्छन् ।
स्विडेन : स्विडेनमा सामान्यतः ६–१० वर्षको उमेरदेखि बालबालिकालाई स्मार्ट फोन या ट्याब्लेट दिइन्छ । स्कुलमा भने साथमा राख्न पाइँदैन । यहाँ दुई वर्षमुनिका बालबालिकालाई स्मार्ट फोन दिइन्न । २–५ वर्षका बालबालिकालाई दिनमा अधिकतम एक घण्टा र ६–१२ वर्षका बालबालिकालाई बढीमा दुई घण्टा प्रयोग
गर्न दिइन्छ ।
फिनल्यान्ड : फिनल्यान्डमा सानै उमेरदेखि बालबालिकालाई प्रविधिसित परिचित गराइन्छ । स्मार्ट फोनको प्रयोग भने अभिभावकको नियन्त्रणमा हुन्छ । बालबालिकालाई स्मार्ट फोनभन्दा घरबाहिर खेल्न, पुस्तकहरू पढ्न, सामाजिक अन्तर्क्रिया गर्न प्रोत्साहित गरिन्छ ।
आइसल्यान्ड : आइसल्यान्डमा १० वर्षमुनिका बालबालिकालाई अभिभावकको कडा नियन्त्रण र निगरानीमा मात्र स्मार्ट फोन प्रयोग गर्न दिइन्छ । यहाँ पनि बालबालिकालाई घरबाहिरका क्रियाकलापमै बढ्ता प्रोत्साहन गरिन्छ ।
भारत : भारतमा प्री–स्कुल या प्राथमिक कक्षादेखि नै बालबालिकाले स्मार्ट फोन प्रयोग गर्न थाल्छन् । अभिभावकले प्रायः बालबालिकालाई शान्त राख्न र मनोरञ्जन गराउन फोन दिन्छन् । भारतमा धेरैजसो बालबालिकाले औसतमा दैनिक दुई घण्टाभन्दा बढी समय स्मार्ट फोन प्रयोग गर्छन् ।
जापान : जापानमा प्रायः १०–११ वर्षको उमेरमा बालबालिकाले स्मार्ट फोन प्रयोग गर्न पाउँछन् । यहाँका प्रायः अभिभावकहरू साइबर बुलिङ, हानिकारक सामग्रीमा पहुँच, अनलाइन शोषण, अनावश्यक लत, असुरक्षित सामाजिक सञ्जालका प्लाटफर्म आदिले गर्दा बढी चिन्तित हुने गरेका छन् ।
अब के गर्ने त ?
यतिखेर हाम्रो देशभरका सरकारी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक कम्प्युटर चलाउन जान्दैनन् । कसैलाई ‘कल’ गर्न र आएको ‘कल’ उठाउनबाहेक अन्य काममा स्मार्ट फोन प्रयोग गर्न जान्दैनन् । अलि बढी नै जान्ने रहेछन् भने फेसबुकमा आएको तस्बिर, भिडियो या स्टाटसमा ‘लाइक’, ‘कमेन्ट’ र ‘सेयर’सम्म गर्न सक्छन् । यस्तो पुस्ताले आफूले पढ्दाकै शैलीमा अहिलेको ‘जेन अल्फा’लाई पढाउन थालेपछि के होला ? न अहिलेका शिक्षकले विद्यार्थीलाई बुझाउन सक्छन्, न उनीहरूबाट विद्यार्थीले नै बुझ्न सक्छन् । त्यसो भए समस्या कहाँ छ त ? पक्कै पनि समस्या विद्यार्थीमा होइन, शिक्षक र अभिभावकहरूमै छ ।
‘यदि विद्यार्थीले अहिलेका पाठ्यपुस्तक पढ्दैनन् भने पढाइलाई नै स्मार्ट फोनसँग जोड्दा के फरक पर्छ ?’ प्राडा कोइराला प्रश्न गर्छन्, ‘बच्चाले खेल मन पराउँछ भने उसलाई खेलकै माध्यमबाट भूगोल, विज्ञान, गणित, इतिहास, भाषा सिकाए हुँदैन र ?’ स्मार्ट फोन छाड्नै नसक्ने अहिलेका बालबालिकालाई त्यसैबाट खोजेर, आफ्नो बुद्धि जोडेर र आफ्नो तर्क समावेश गरेर कक्षामा प्रस्तुत गर्ने गरी गृहकार्य दिँदा त्यो बढी सिर्जनात्मक पनि हुने, खोजमूलक पनि हुने र यस्तो काम गर्न पाउँदा बालबालिकाले रमाइलो पनि मान्ने तर्क गर्छन् प्राडा कोइराला । उनका अनुसार हामीले हाम्रो पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री र पढाउने शैलीमा सुधार गरेर तिनलाई प्रविधिसित जोड्न सकेनौँ भने अबका बच्चाले न पढ्छन्, न पढेर केही बुझ्छन्, न त्यसबाट कुनै जीवनोपयोगी सिप सिकेर व्यवहारमा उतार्न नै सक्छन् । ‘अब हामीले हाम्रो देशको हिमालदेखि तराईसम्मका भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल, वेशभूषा, स्थानीय सामग्री, खानपान आदि सबै कुरालाई प्रविधिसित जोडेर स्मार्ट फोनमा राखिदिनुपर्छ,’ प्राडा कोइराला भन्छन्, ‘यति गर्न सक्यौँ भने बालबालिकाले स्मार्ट फोन प्रयोग गरे भनेर टाउको दुखाइरहनुपर्दैन, किनकि उनीहरूले त्यसैबाट आफूलाई आवश्यक पर्ने अमूल्य ज्ञान पाइरहेका हुन्छन् ।’
स्मार्ट फोनको अल्गोरिदमले बालबालिकालाई एकोहोरो बनाउँछ, उनीहरूको सोच्ने क्षमता कमजोर बनाउँछ, तर्क गर्ने क्षमता घटाउँछ, आँखा कमजोर बनाउँछ, स्मार्ट फोन प्रयोगको लत लाग्छ जस्ता धारणा पनि सुनिन्छन् । बालबालिकालले स्मार्ट फोन कति समय प्रयोग गरिरहेका छन्, उनीहरूले त्यसमा के–के हेरिरहेका छन्, उनीहरूले कोकोसित के–के कुराकानी गरिरहेका छन्, त्यसको जानकारी भने प्रत्येक अभिभावकलाई हुनैपर्छ । यसका लागि हरेक अभिभावकले आफूले दिनभरिमा स्मार्ट फोनमा हेरेका कुराबारे साँझ घरमा बालबालिकासित बसेर अन्तर्क्रिया गर्नुपर्छ । बालबालिकाले दिनभर के–के हेरे, त्यसबारे पनि सुन्नुपर्छ । उनीहरूले हेरेका या गरेका राम्रा कुरा र कामको प्रशंसा गर्ने र उनीहरूलाई उपयुक्त नहुने खालका सामग्री हेरेका रहेछन् भने त्यसका नकारात्मक पक्ष बताएर सचेत गराउने दायित्व अभिभावककै हो । साथै, बालबालिकाका लागि उपयुक्त सामग्रीबारे जानकारी गराउने र उपयोगी लिंक पनि पठाइदिने हो भने त्यसबाट उनीहरूलाई धेरै लाभ पुग्न सक्छ ।
रत्नराज्य क्याम्पसमा पत्रकारिता अध्ययनरत तथा माउन्टेन टिभीकी समाचार प्रस्तोता कविना बलामीका अनुसार अहिलेको डिजिटल संसारमा जीवनका हरेक पक्ष प्रविधिसँग जोडिएका हुनाले बालबालिकालाई सानैदेखि स्मार्ट फोन दिएर प्रविधिसित परिचित गराइएन भने हुर्किसकेपछि उनीहरूभन्दा धेरै अघि बढिसकेको प्रवधिलाई बुझ्न र त्यसको गतिअनुसार अघि बढ्न सक्दैनन् । ‘स्मार्ट फोनको प्रयोगले बालबालिकालाई नयाँ सिप सिक्न, शैक्षिक सामग्रीमा पहुँच राख्न र भविष्यका लागि महत्वपूर्ण डिजिटल उपकरण र प्रविधिसित परिचित हुन सजिलो हुन्छ,’ कविना भन्छिन्, ‘तर, उनीहरूले स्मार्ट फोनमा कति समय खर्चिन्छन् र के–के हेर्छन् भन्ने कुरामा भने बाबुआमा स्वयं जिम्मेवार भएर ध्यान दिन सक्नुपर्छ ।’
बालबालिकाले के हेरिरहेका छन् र कति समय हेरिरहेका छन् भन्ने विषयमा बाबुआमा नै सचेत हुनुपर्नेमा डा. केसी पनि सहमत छन् । ‘आठ वर्षसम्मका बालबालिकालाई बेलुकाको समयमा बढीमा एक घण्टाजति समय उनीहरूको स्तर सुहाउँदा कार्टुन या अन्य कुनै सामग्री हेर्न दिँदा फरक पर्दैन,’ डा. केसी भन्छन्, ‘आठदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई भने दिनमा दुई घण्टासम्म हेर्न दिँदा पनि फरक पर्दैन । तर, उनीहरूले के हेरिरहेका छन् भन्नेमा चाहिँ हामीले ध्यान दिनैपर्छ ।’ राम्ररी प्रयोग गर्ने हो भने स्मार्ट फोन बालबालिकाको सहयोगी साधन हो, दुस्मन होइन भन्नेमा डा. केसी सहमत छन् । तर, बालबालिकाले एउटै सामग्री लामो समय या पूरै नहेरी नयाँनयाँ सामग्रीका लागि छिटछिटो ‘स्क्रोल’ गरिरहन्छन् भने त्यसले गर्दा शरीरभन्दा बाहिरी उत्तेजनाले दिमागमा डोपामिनको लेभल ज्यादै बढाउन सक्छ । यस्तो अवस्थामा पछि पढ्दा, साथीभाइसित खेल्दा खासै रमाइलो महसुस गर्न नसक्ने डा. केसीको भनाइ छ ।
अभिभावकलाई सुझाव
प्रविधिको युगमा आजका बालबालिकालाई स्मार्ट फोनको पहुँचबाट टाढा राख्न सम्भव पनि छैन र टाढा राख्नु पनि हुँदैन । यसका लागि अभिभावक स्वयं सचेत भई प्रयोगसम्बन्धी निश्चित मापदण्ड बनाई कडाइसाथ निगरानी गरेर बालबालिकालाई स्मार्ट फोन दिनु जरुरी छ । यसका लागि बालबालिकाको उमेरअनुसार उनीहरूले स्मार्ट फोन प्रयोग गर्ने अवधि निश्चित गर्नुपर्छ । त्यसको पालनामा कडाइ गर्नुपर्छ । बालबालिकालाई ढोका बन्द गरेर फोन प्रयोग गर्न दिनु हुँदैन । उनीहरूले प्रयोग गर्ने स्मार्ट फोनको पासवर्ड अभिभावकलाई थाहा हुनुपर्छ । उनीहरूले कुन–कुन एप चलाइरहेका छन्, केकस्ता सामग्री हेरिरहेका छन्, त्यसबारे अभिभावक जानकार हुनुपर्छ । बालबालिकालाई भुलाउन होइन, उनीहरूलाई केही न केही सिकाउन स्मार्ट फोन दिनुपर्छ । स्मार्ट फोनसँगसँगै बाहिरी पुस्तकको अध्ययन र घरबाहिर तथा भित्र खेलिने खेल गतिविधिमा पनि उनीहरूलाई सरिक गराउनुपर्छ । साथमा बिदा या फुर्सदको समयमा घुमफिर गर्ने, पुस्तकालय लाने, पुस्तक प्रदर्शनीमा लगेर बाहिरी पुस्तक किनिदिने, आफूले पनि पुस्तक पढ्ने र उनीहरूलाई पनि पढ्न लगाउने हो भने बालबालिकाको स्क्रिन टाइम कम गर्न सकिन्छ । यसबाट बालबालिकामा सकारात्मक ऊर्जा, ज्ञानको खोजी, प्रविधिको प्रयोग, सञ्चार, मनोरञ्जन आदि कार्यका लागि स्मार्ट फोन प्रयोग गर्ने बानीको विकास हुनेछ । उनीहरूले फोनको दुरुपयोग होइन, सदुपयोग गर्नेछन् ।
अहिलेका बालबालिकालाई स्मार्ट फोन नदिनु भनेको उहिलेका बालबालिकालाई स्कुल नपठाउनु जस्तै हो । स्कुल नपठाउँदा उतिखेरका बालबालिका निरक्षर रहन्थे । अहिलेका केटाकेटीलाई स्मार्ट फोन नदिँदा उनीहरू पनि प्रविधि प्रयोगमा निरक्षर ठहरिन सक्छन् । उहिले पनि स्कुल पठाएपछि उनीहरूले पढे कि पढेनन्, के पढे, कति पढेजस्ता कुरामा बाबुआमाले चासो लिएमा मात्र उनीहरूको पठनपाठन राम्रो हुन्थ्यो । अहिले पनि बालबालिकाले स्मार्ट फोनमा के–के हेरे, कतिबेर हेरे, त्यसबाट के–के सिके भन्ने विषयमा बाबुआमाले चासो लिइदिए स्मार्ट फोन समस्या होइन, समाधान बन्न सक्छ ।