नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक नियमित काममा फर्किएका छन्। अस्पतालमा कार्यरत चिकित्सकलाई ज्यान मार्ने सार्वजनिक अभिव्यक्ति दिने पत्रकारसमेत रहेका कुशल दर्लामीलाई प्रहरीले पक्राउ गरेपछि भेरी अस्पतालका चिकित्सक नियमित काममा फर्किएका हुन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीमाथि सांघातिक आक्रमण प्रयास भएपछि चिकित्सकले सोमबारदेखि ओपिडी सेवा बन्द गरेका थिए। बैजनाथ गाउँपालिका ६ की ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर १०–१२ जना युवाको समूह अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. सुवेदीमाथि हातपात प्रयास गरेपछि ओपिडीमा जाँच गरिरहेका चिकित्सकले सेवा बन्द गरेका थिए।
‘कार्यालय प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गलौज गर्ने, भौतिक आक्रमण गर्ने सार्वजनिक रूपमा धम्की दिने व्यक्ति पक्राउ परेको सूचना जिल्ला प्रशासनबाट पाएपछि नियमित काममा फर्किएका छौँ,’ अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ। पक्राउ परेका व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारबाही अगाडि बढाउनुपर्ने माग चिकित्सकले अघि सारेका छन्।
‘किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य व्यक्तिलाई २४ घण्टाभित्र पक्राउ पुर्जी जारी गरी आवश्यक कारबाही अगाडि बढाउनुपर्ने, सामाजिक सञ्जालमार्फत धम्की दिने व्यक्तिले उक्त सामग्री हटाउनुपर्ने र अस्पताल परिसरभित्र कसैले भिडियो-फोटो खिच्न परे अस्पताल प्रशासनसँग अनुमति लिनुपर्नेछ,’ अस्पताल प्रशासनले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘माग पूरा नभए पुनः विरोधमा उत्रिन बाध्य हुनेछौँ।’
मुटुमा समस्या देखिएपछि दिलसरालाई एक साताअघि उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको आइतबार उपचारको क्रममा मृत्यु भएको हो।
चिकित्सकको लापरबाहीले मृत्यु भएको मृतकका परिवारले आरोप लगाएका छन्। सुरक्षाको प्रत्याभूति नहुँदासम्म ओपिडी सेवा सञ्चालन नगर्ने अडानमा रहेको सूचना अधिकारी डा. रिसालले बताए।