कर्णाली प्रदेश सभाको सचिवमा खड्का

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेश सभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्। खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेश सभाको सचिवमा नियुक्त गरेकी हुन्।

नवनियुक्त सचिव खड्काले मंगलबार नै सभामुख गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्। नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९, ओखलढुंगाका स्थायी निवासी हुन्।

संघीय संसद् सचिवालयमा पाँच वर्ष सहसचिवको रूपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ। कानुन विषयमै विद्यावारिधि गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिंगापुरको नेसनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्।

नेपालको संविधान निर्माणका क्रममा संविधान मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्ता दिनसम्म प्रदेश सभामै बसेर बैठक सञ्चालनमा सहजीकरण गरेका थिए।

सुझावित समाचार