भोलि देशभर पानी पर्ने, हावाहुरीको पनि चेतावनी

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

भोलि बुधबार देशभर पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा आज रातिबाट भने प्रि-मनसुन सक्रिय हुने देखिएको छ। पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने आकलन छ। त्यस्तै, बुधबार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने देखिन्छ। तर, कोशीका पहाडी भूभागका एक–दुई स्थानमा भने ठुलो वर्षाको पनि सम्भावना छ।

विभागका प्रवक्ता विभूति पोखरलेका अनुसार प्रि-मसुनको सिजन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहन्छ। ‘आज राति कोशीका धेरै स्थान मधेश, बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने देखिन्छ, भोलि अझ विस्तार भएर देशभर पानी पर्ने आकलन छ,’ उनले भनिन्। बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको आकलन छ। 

बिहीबार भने मौसममा केही सुधार हुने आकलन छ। बिहीबार दिउँसो हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाका सम्भावना रहेको छ। 

भोलि हावाहुरी पनि चल्ने
भोलि बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी पनि चल्ने सम्भावना छ। महाशाखाका अनुसार सुदूरपश्चिमका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ। त्यस्तै, मधेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशीका मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

See More On

सुझावित समाचार