चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्यमा सिनग्रुईको अवस्था ३ अप्रिलमा सार्वजनिक भयो । उनीमाथि गम्भीर अनुशासन तथा कानुन उल्लंघनको आरोपमा अनुशासन नियमन गर्ने केन्द्रीय आयोग तथा राष्ट्रिय अनुगमन आयोगले अनुसन्धान गरिरहेको बाहिरियो । सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्र शीघ्र उदय भएका उनी पार्टीका केन्द्रीय ग्रामीण कामसम्बन्धी समूहका उपनेता पनि थिए ।
नौ महिनाअघि ‘मा’लाई सिन्जियान प्रान्तको पार्टीसचिवको भूमिकाबाट हटाउँदा उनलाई ‘अर्को जिम्मेबारी’ दिएको बताइएको थियो । तर, कुनै नयाँ पद भने घोषणा गरिएन । खासमा यति लामो बर्खास्ती आफैँमा एक संकेत थियो । चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष तहको काम गर्ने शैलीमाथि ध्यान दिने जो–कोहीका लागि माको प्रकरणले अचम्मित बनाएको छ । किनकि उनी कारबाहीमा परेका अर्का एक शीर्ष अधिकारी मात्र थिएनन् । यस प्रकरणमा चीनमा प्रायः उल्लंघन नगरिने एक अघोषित नियम उल्लंघन गरिएको छ । त्यो हो, पदासीन पोलिट्ब्युरो सदस्यमाथि कारबाही नहुने व्यवस्था । २४ सदस्य रहने यो निकाय सानो आकारको स्थायी कमिटीपछि चीनको दोस्रो शीर्ष नेतृत्व समूह हो ।
उसो त प्राविधिक रूपमा यो अघोषित नियम गत वर्ष सैन्य नेतृत्व हे वेइदोङ र झाङ योउसियालाई अपदस्थ गर्दा पनि उल्लंघन भएको थियो । तर, चीनमा सैन्यशक्तिलाई अक्सर अपवाद मानिन्छ । यसैले माजस्ता पोलिट्ब्युरो नेतृत्वमाथिको कारबाहीले भने धेरैको ध्यान तान्यो । मामाथि कारबाहीको कारण भ्रष्टाचार भनिएको छ । तर, वास्तविक कारण फरक हुन सक्छ । आधिकारिक वक्तव्य र पार्टीनिकट मिडियाको प्रस्तुति हेर्दा हे, झाङ र मामाथि कारबाहीको कारण एउटैजस्तो देखिन्छ, सीको शक्तिलाई नजरअन्दाज गर्ने प्रयास ।
विगतमा चिनियाँ कम्युनिस्ट पार्टीको जति माथिल्लो तहमा पुग्यो त्यति नेताले आफूलाई कारबाहीबाट सुरक्षित महसुस गर्थे
उसो त वर्तमान २०औँ पोलिट्ब्युरोमा प्रायः सीनिकट नेता छन् । तिनमा पनि मूल केन्द्रमा रहेका र बाहिरी घेरामा रहेकाबिच तीव्र प्रतिस्पर्धा देखिन्छ । मा बाहिरी घेराका सदस्य थिए । उनी ‘साङ्दोङ गुट’का प्रमुख नेता थिए जुन सीकी श्रीमती पेङ लियुआनको नेतृत्वमा छ । यस गुटमा पेङजस्तै साङदोङ प्रान्त वा त्यसनिकट नेता रहेको मानिन्छ ।
माको उदयमा सीको प्रत्यक्ष सम्बन्धभन्दा पेङको निगाह महत्वपूर्ण मानिन्छ । मा आगामी वर्ष हुने पार्टीको २१औँ कंग्रेस (सम्मेलन)मा पार्टीको स्थायी कमिटीमा पुग्ने बाटोको खोजीमा थिए । र, यही समय माकी श्रीमतीले पार्टीका कैयौँ शीर्ष नेताका श्रीमती र बालबाच्चालाई हङकङ र अन्य क्षेत्रबाट बिमा दिलाउन माको प्रभाव प्रयोग गरेको हल्ला चल्यो ।
यस प्रकरणमा संलग्न भएका नेताको संख्या र तह निकै विशाल रहेको बताइन्छ । हल्ला सही भए माले पार्टीमा प्रभाव विस्तार गर्न शीर्ष नेताका परिवारलाई आफूनजिक पार्न खोजेजस्तो देखिन्छ । सीले पहिल्यैदेखि शीर्ष नेताहरू गुट–उपगुटको खेलमा लागेकाप्रति तीव्र घृणा व्यक्त गर्थे । तथापि, श्रीमती पेङनजिकका नेता भएकाले सी मामाथि कारबाही गर्न केही हच्किएको देखिन्छ ।
चीनमा शीर्ष नेतामाथि खुला रूपमा हुने कारबाही खासमा ती नेताले कति भ्रष्टाचार गरे भन्नेले भन्दा पनि भ्रष्टाचारलाई सम्बन्ध सञ्जाल निर्माणमा प्रयोग गरे कि गरेनन् भन्नेले निर्धारण गर्छ । भ्रष्टाचार त कारबाहीको प्रवेशविन्दु मात्र हुने र मूल विषय राजनीतिक नै हुने गर्छ । सीले मामाथिको कारबाहीबाट पार्टी एलिट् र आफूनिकट नेताहरूले पनि पार्टीको स्थान सुरक्षित गर्ने नियम बदलिएको बताउन चाहेका हुन् भने अब सीसँगको सम्बन्धले मात्र नेताको राजनीतिक सुरक्षा सुनिश्चित नगर्ने देखाएको छ । श्रीमती पेङ समूहको सदस्य भएकाले सीसँग नजिक मानिदासमेत मा सुरक्षित नहुने हो भने कोही पनि सुरक्षित हुनेछैनन्, विशेषतः मूल नेतृत्वले नचाहेको गतिविधिमा संलग्न भएको पाइएमा ।
विगतमा पार्टीको जति माथिल्लो तहमा पुग्यो त्यति नेताले आफूलाई कारबाहीबाट सुरक्षित महसुस गर्थे । तर, अहिले मान्यता पनि तोडिँदै गएको देखिन्छ । सीनजिकका शीर्ष नेताबिच पनि विभिन्न तहको विभाजन देखिन्छ । पोलिट्ब्युरोको सबैभन्दा भित्री तहको मूल नेतृत्व अझै सुरक्षित हुन सक्छन् । बाहिरी तहका नेता भने अब बिस्तारै कमजोर र कारबाहीको दायरामा तानिने सम्भावना बढ्नेछ ।
राजनीतिक भविष्य सुरक्षित गर्न प्रत्येक नेताले सीप्रतिको वफादारीमै निर्भर हुनुपर्ने अवस्था आएको छ । अर्थात्, विगतमा जस्तै सीसँग नजिक हुने प्रयास गर्दागर्दै अन्य शीर्ष नेतृत्वको स्वार्थसमूह निर्माण गर्ने प्रयास घातक हुने देखिन्छ ।
फरेन अफेयर्सबाट
(देङ चिनियाँ प्राज्ञ हुन्)