संखुवासभामा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । जिल्लाको मकालु गाउँपालिका– २, सेकेदेम भन्ने ठाउँको सुकेखोलामा स्थानीय मदन राईका १२ वर्षीय छोरा सुवास राई र चार वर्षीय छोरा आशिष राईको पौडी खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए ।

उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर स्थानीय खोलामा एकै परिवारका दाजुभाइ र बहिनी सुवास, आशिष र १० वर्षीय बहिनी मनीषा राई खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा आशिष ढुंगाबाट चिप्लिएर लड्दा उनलाई बचाउन जाँदा दाजु सुवास पनि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दाजुभाइ सुवास र आशिषलाई तुरुन्तै मकालु स्वास्थ्य केन्द्र सेदुवामा ल्याई उपचार गर्न खोज्दा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको र कानुनी प्रक्रिया पूरा गरेपछि आफन्तलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार