नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन परिणामलाई गम्भीर रूपमा आत्मसात् गर्दै अब पार्टीभित्र ‘चिन्ता होइन, चिन्तन’ आवश्यक रहेको बताएका छन्। उनले देशको निम्ति कांग्रेसको पुनरुत्थान आवश्यक रहेको दाबी गरे।
बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले हारको समीक्षा केवल कमजोरी खोज्नका लागि नभई आगामी राजनीतिक दिशा तय गर्नका लागि हुनुपर्ने धारणा राखे । थापाले हालको परिस्थितिमा कांग्रेससँग दुई विकल्प रहेको उल्लेख गर्दै ‘चिन्ता’ले समस्या मात्र देखाउने, तर ‘चिन्तन’ले समाधानतर्फ डोर्याउने बताए। ‘कांग्रेसलाई अहिले चिन्ता होइन, चिन्तनको आवश्यकता छ,’ उनले भने।
प्रधानमन्त्री होस् वा पार्टी सभापति, अनुसन्धानको दायरामा आउँदा सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले २०४८ सालयता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी दोषी देखिए कारबाही र सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने स्पष्ट पारे।
उनले राज्यले विधिको शासन पालना गर्दै गरेको अनुसन्धानको विरोधमा कांग्रेस सडकमा नउत्रिने पनि स्पष्ट पारे। ‘म स्वयं छानबिनमा परे पनि कांग्रेस विरोधमा उठ्दैन,' उनले भने, ‘तर विधिको शासन कायम हुनुपर्छ भन्नेमा हामी अडिग छौँ।’
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको दाबी गर्दै उनले २४ गतेको घटनाबारे निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरे।
पार्टी अनुशासनबारे कडा सन्देश दिँदै सभापति थापाले कांग्रेसका क्रियाशील सदस्यले अन्य पार्टीलाई मत दिन नपाउने स्पष्ट पारे। ‘आममतदाताले जसलाई पनि मत दिन सक्छन्, तर कांग्रेस सदस्यले रुख चिन्हमै मतदान गर्नुपर्छ,’ उनले भने। सभापति थापाले अब विशेष महाधिवेशनको बहस समाप्त भएको उल्लेख गर्दै १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे। उनले गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।