सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशका सात जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको छ। परिषद्का अध्यक्षसमेत रहेका सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको परिषद्को बैठकले सात जिल्लामा अध्यक्ष नियुक्त गरेको हो।
बैतडी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भूपेन्द्र चन्द, बाजुरामा कोपिलासिंह कुँवर, अछाममा गोकुलबहादुर शाह र बझाङमा कमलबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
त्यस्तै, खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, कैलालीको अध्यक्षमा दिनेश भण्डारी र डडेलधुरा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जगतबहादुर ऐरलाई नियुक्त गरिएको छ। परिषद्का अनुसार उनीहरूको कार्यकाल चार वर्षको रहनेछ।
सुदूरपश्चिममा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको भागबन्डाका आधारमा अध्यक्षहरू नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ। बैतडी र बाजुरामा एमाले तथा अन्य पाँच जिल्लामा कांग्रेसको कोटाबाट अध्यक्ष नियुक्त गरिएको बताइएको छ।
परिषद्ले डोटी र दार्चुलामा खेलकुद विकास समिति अध्यक्ष पहिले नै नियुक्त गरेको थियो।