यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर समायोजन गरेको छ। विभागले ०८२ चैत २५ गते प्रकाशित अत्यन्त जरुरी सूचनामार्फत नयाँ भाडादर आजैदेखि लागू भएको जनाएको हो।
विभागका अनुसार ०७२ सालदेखि लागू गरिएको वैज्ञानिक भाडा प्रणालीअन्तर्गत १३ वटा सूचकका आधारमा स्वचालित रूपमा भाडा समायोजन हुँदै आएको छ। तीमध्ये प्रमुख सूचकका रूपमा रहेको इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा भाडादर स्वतः समायोजन गर्ने व्यवस्था रहेको छ।
यसअघि ०८१ पुस २२ गते डिजेलको औसत मूल्य प्रतिलिटर १५० रुपैयाँ ८३ पैसा हुँदा भाडा समायोजन गरिएको थियो। त्यसयता इन्धनसहित अन्य सूचकमा आएको मूल्यवृद्धिलाई आधार मान्दै नयाँ समायोजन गरिएको विभागले जनाएको छ।
नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा बढाइएको छ।
विभागले दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सवारीसाधनमा मात्र यो भाडा लागू हुने स्पष्ट पारेको छ। साथै, निर्धारण गरिएका अन्तरप्रदेश मार्गहरूको नयाँ भाडा सूचीसमेत सार्वजनिक गरिएको जनाएको छ।