संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका चारवटै समिति सभापति निर्विरोध निर्वाचित भएका छन् । मंगलबार चारवटै समिति सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । राष्ट्रिय सभामा दलहरूबिच भएको भागबन्डाअनुसार एमालेले सभाको उपाध्यक्ष र कांग्रेस दुई समिति सभापति, नेकपा र जसपा एक–एक समिति सभापति लिने सहमति भएको थियो ।
मंगलबार चारवटै समिति सभापति पनि निर्विरोध निर्वाचित भएका हुन् । संसद् सचिवालयका अनुसार कांग्रेसतर्फ विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा जसपाकी पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेकपाकी जयन्तीदेवी राई निर्वाचित भएकी छिन् । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपा १८, एमाले ११ र जसपा तीन, राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । राष्ट्रपतिबाट एकजना नियुक्त हुन बाँकी छ ।
प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक टेबुल गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कबहादुर राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सदनमा प्रस्तुत गरेका हुन् । बुधबारको प्रतिनिधिसभामा विधेयकमाथि सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।