सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रदेश सभा सदस्य शिवराज भट्टलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री भट्टको शपथ अहिले ५ बजेलाई राखिएको छ। यो मन्त्रालय गत असारदेखि मन्त्रीविहीन थियो।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नुअघि दलको बैठक राखेका थिए। संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको थियो। भट्ट बैतडीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
मुख्यमन्त्री शाहले आर्थिक लेनदेनमा जोडिएको भन्दै तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई गत १९ असारमा बर्खास्त गरेका थिए। त्यसयता यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँसँग राखेका थिए।
सोमबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले आगामी आर्थिक वर्ष ०८३-८४ को बजेट निर्माणमा सल्लाह सुझाव दिन तीनसदस्यीय बजेट सुझाव समितिसमेत गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य छन्। बैठकले चुनावपछि गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्ने निर्णयसमेत गरेको छ।