नेपालमा ‘विदेशी मुद्रा बजार काउन्सिल’ गठन गर्न सुझाव

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

नेपालमा विदेशी मुद्रा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वनियामक निकाय ‘काठमाडौं विदेशी विनिमय बजार काउन्सिल’ गठन गर्न सुझाव दिइएको छ । बैंक अफ कोरियाअन्तर्गत सञ्चालन भएको अध्ययनले नेपाल राष्ट्र बैंकलाई यस्तो सिफारिस गरेको हो ।

अध्ययनअनुसार कोरियाको ‘सिओल एफएक्स मार्केट कमिटी’जस्तै नेपालमा पनि नीति–निर्माता र बजारका सरोकारवालालाई एउटै मञ्चमा ल्याउने संस्था आवश्यक छ । यस्तो निकायले नीति–निर्माणमा समन्वय बढाउने, बजारका सुझाव समेट्ने र विदेशी मुद्रा बजारको विकासमा साझा जिम्मेवारी बढाउने विश्वास गरिएको छ । अहिले नेपालमा विदेशी मुद्रा कारोबार बढ्दै गएको भए पनि बजार पूर्ण रूपमा विकसित भइसकेको छैन । अध्ययनले बजारलाई बलियो बनाउन सरकार, केन्द्रीय बैंक र बैंक–वित्तीय संस्थाबिच समन्वय आवश्यक रहेको र काउन्सिलले त्यसको समन्वय गर्ने बताएको छ । 

कोरियाबाट के सिक्ने ?
अध्ययनले कोरियाको अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ । कोरियाले पहिले अमेरिकी डलरसँग स्थिर विनिमय दर राखेको थियो । तर, विनिमय दर कृत्रिम रूपमा उच्च राखिँदा सन् १९९७ मा ठुलो मुद्रामा संकट आएको थियो । त्यसपछि कोरिया लचिलो (फ्लोटिङ) विनिमय दर प्रणालीमा गयो । त्यस अनुभवबाट कोरियाले विनिमय दर बजारको माग र आपूर्तिमा आधारित हुनुपर्ने र अत्यधिक नियन्त्रणले जोखिम बढाउने निष्कर्ष निकालेको अध्ययनमा उल्लेख छ ।

अध्ययनले नेपाललाई हालको पेग्ड (स्थिर) विनिमय दर प्रणाली कायम राख्दै सावधानीपूर्वक सुधार गर्न सुझाव दिएको छ । विशेषगरी पर्याप्त विदेशी मुद्रा सञ्चिति जोगाएर राख्नुपर्ने, रेमिट्यान्स बढेका वेला सञ्चिति बलियो बनाउने र पुँजी पलायनको जोखिम न्यूनीकरणको तयारी गर्ने उल्लेख छ । साथै, अन्तर्राष्ट्रिय सहकार्य पनि महत्वपूर्ण हुने औँल्याइएको छ । यसका लागि रिजर्भ बैंक अफ इन्डियासँग मुद्रा स्वापजस्ता व्यवस्था प्रयोग गर्न सकिने सुझाव छ । यसले विदेशी मुद्रा अभाव हुँदा सहयोग पुर्याउन सक्छ ।

अहिलेसम्म नेपालले यस्तो स्वाप सुविधा प्रयोग गरेको छैन । विदेशमा कार्यरत नेपालीबाट आउने रेमिट्यान्सले विदेशी मुद्रा पर्याप्त मात्रामा उपलब्ध गराउँदै आएको छ । तर, भविष्यमा आवश्यकता परे भारतसँग यस्तो सुविधा लिन सकिने अध्ययनको सुझाव छ ।

अध्ययनले विदेशी मुद्रा बजार सुधारका विदेशी मुद्रा कारोबार निगरानी गर्न आधुनिक सूचना प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ । बैंकहरूको बाह्य ऋण र जोखिमको निगरानी गर्नुपर्ने बताएको छ । विदेशी विनिमय स्वाप गर्नेजस्ता विदेशी मुद्रा कारोबारका नयाँ उपकरण विस्तार गर्ने उल्लेख छ ।

सुझावित समाचार