एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठुलो क्षति हुनबाट जोगियो

दुर्घटनालगत्तै चालकले इन्जिन अफ गरेपछि थप क्षति भएन

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

खोटाङको केपिलासगढी गाउँपालिका– २, खार्तम्छास्थित बालाबेँसीमा एयर डाइनेस्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पाँचजना यात्रु लिएर बुधबार मध्याह्न १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकोप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

चालकसहित ६ जना सवार एयर डाइनेस्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार ललितपुरका ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । दुर्घटनामा परेर काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको छ ।

काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेस्टीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको खार्तम्छाका वडाध्यक्ष मिलन राईले जानकारी दिए । उनका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकोप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको थियो । दुवैको काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । हेलिकोप्टरमा एक महिनाअघि बेलायतमा ज्यान गुमाएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्षी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्त आएका थिए ।

मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ । मृतक मनलक्षीको शव भने गाडीमार्फत बिहीबार बालाबेँसी आइपुग्ने आफन्तले जानकारी दिएका छन् । हेलिकोप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए ।

दुर्घटनालगत्तै चालकले इन्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए । ‘घटना सम्झँदा सपनाजस्तो लाग्छ । सबैको होसहवास उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ,’ उनले भने, ‘यस्तो दुर्घटना हुँदा बाँच्ने चान्स थोरै मात्र हुन्छ । चालकले तत्कालै इन्जिन अफ गर्नुभयो । चलिरहेको इन्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।’

एयर डाइनेस्टी कम्पनीका क्याप्टेनसमेत रहेका चालक सविनसँग सात वर्षको कार्यानुभव र कुल एक हजार १०५ घण्टा हेलिकोप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । एयर डाइनेस्टीका प्रवक्ता एवं वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकोप्टर पुन: उठाएर बारीको बिचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिए । 

सुझावित समाचार