बाराको जितपुर सिमरा उपमहानगरपालिका छातापिपरानिवासी रुकमिनीदेवी पासवानले निर्वाचन प्रहरीमा भर्ना भएपछि पनि श्रीमानले अहिलेदेखि छोडेर घरमा बस्नलाई रोक्दै आएका थिए । तर, आफूले जसरी भए पनि निर्वाचन प्रहरीको काम पूरा गर्न अडान लिएपछि ५–६ दिन बोलचाल बन्द नै भएको उनको भनाइ छ ।
अहिले ४० दिनको काम पूरा भएर घरमै जान लाग्दा आफू र आफ्नो परिवारलाई पनि खुसी लागेको पासवानले बताइन् ।घरमा चार वर्षको बच्चालाई रेखदेख गर्दै ड्युटीमा आउने समयमा बच्चालाई छाडेर आफूले निर्वाचन प्रहरीमा भर्ना भएर कर्तव्य पूरा गरेको उनले बताइन् । संगठनको नीतिअनुसार आगामी दिन राज्यले बोलाएको समयमा आफूहरू पुनः जागिर गर्न र राष्ट्रकाे सेवा गर्न तयार रहेको उनी बताउँछिन् ।वीरगन्ज महानगरपालिका– २८, बगहीनिवासी अन्तिमा कुमारीले निर्वाचन प्रहरीमा भर्ना भएर जन्मेर ठुलो हुँदासम्म सिक्न नसकेको अनुशासन सिकेको अनुभव सुनाइन् ।
४० दिनको अवधिमा प्रहरीहरूले पनि आफूहरूलाई राम्रो व्यवहार गरेर काममा लगाउन गरेकाले काम गर्न सजिलो पनि भएको उनले बताइन् । अब निर्वाचन प्रहरीमा काम गरेर धेरै कुरा सिकेकाले यसलाई अवसरको रूपमा लिएर अगाडि बढ्ने गरी काम थाल्ने उनको भनाइ छ । अर्का निर्वाचन प्रहरी रामप्रवेश सहनीले पनि निर्वाचन प्रहरीमा भर्ना भएर ४० दिन गरेको कामको अनुभवबाट जीवनमा आवश्यक पर्ने अनुशासनको पालना गर्न सिकेको सुनाए । सरकारले निर्वाचन प्रहरीको अनुभवबाट सिकेको कुरालाई केही जागिरको अवसर खोलेको खण्डमा आफू त्यसमा लाग्ने उनले आफ्नो योजना सुनाए ।
वीरगन्ज महानगरपालिका– २८ निवासी अर्की निर्वाचन प्रहरी उमरावती कुमारीले विद्यार्थी भएको र आफ्नो पहिलो जागिर निर्वाचन प्रहरीमा गरेको सुनाइन् । आफ्नो पहिलो जागिर ४० दिने निर्वाचन प्रहरीको रहेछ,अब यही अनुभवको आधारमा आफूले अन्य जागिर गर्नका लागि अगाडि बढ्ने योजना बनाएको सुनाइन् । अर्का निर्वाचन प्रहरी राहुल महतोले पनि निर्वाचन प्रहरीमाथि केही प्रहरीहरू कडा रूपमा प्रस्तुत भएर काममा लगाउने गरेको सुनाए । निर्वाचन प्रहरीलाई नेपाल प्रहरीहरूले हेप्न काम नगरेको भए पनि ड्युटीको समयमा कडा रूपमा प्रस्तुत भएर काम गराएको उनले बताए ।
निर्वाचन प्रहरी प्रहरीसँगै गाउँ बस्तीमा गस्तीको समयमा जाँदा गाउँका व्यक्तिले केही अपशब्द पनि सुनाउने र बोल्ने गरेको उनको अनुभव छ । निर्वाचन प्रहरीलाई ४० दिनको कार्यकालमा जवानसरहको तलब, रासन, यातायात, खाजा र पोसाक भत्तालगायतका सुविधा पाएका छन् । विगतमा झैँ यसपटक पनि सरकारले १० दिन तालिम र ३० दिन फिल्डमा खटिने कार्यअवधि तोकेर निर्वाचन प्रहरी जनशक्ति व्यवस्थापन गरेको हो। यसबाहेक ‘नेपाल सरकारले तोकेबमोजिम’ हुने उल्लेख छ। निर्वाचनमा नियमित गस्ती, कार्यालय सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलगायतमा एकातिर नियमित रूपमा खटिनुपर्छ भने निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्थापनअन्तर्गत उम्मेदवारका सुरक्षादेखि प्रचारप्रसार, आमसभालगायतमा पनि सुरक्षा दिनुपर्ने दिएका थिए ।
एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउमा जान र फर्किनलाई एकपटकका लागि प्रतव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुस्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको छ ।