पर्साबाट प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले जित निकालेका छन् । निर्वाचन परिणामअनुसार जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले जित निकालेका हुन् । पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवारहरू नै रास्वपाबाट निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री प्रदीप यादवलाई हराउँदै रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित भएका छन् । रास्वपा उम्मेदवार पन्त नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री यादवलाई १४ हजारभन्दा बढी मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार रास्वपाका उम्मेदवार पन्तले कुल २७ हजार २७४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले भने १३ हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी कांग्रेसका अनिल रुँगटाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् । पर्साको निर्वाचन क्षेत्र १ मा रहेको ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको थियो ।
निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसियालाई पराजित गर्दै रास्वपाका उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । कांग्रेसका उम्मेदवार चौरसियालाई १८ हजार ८५० मतले पछाडि पार्दै कानु विजयी भएका हुन् ।कानुले कुल ३० हजार ७४० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिद्वन्द्वी कांग्रेसका चौरसिया र एमालेकी रिमाकुमारी यादवले क्रमशः ११ हजार ८९० र ११ हजार ६०५ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यमा निर्वाचित कानु यसअघिको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । पर्सा क्षेत्र नम्बर २ मा ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ मत खसेको थियो ।
पर्साको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्तप्रसाद चौरसिया निर्वाचित भएका छन् । उनले २९ हजार ६७९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत पाए । नेकपा एमालेका रूपेशकुमार पाण्डेय ११ हजार ९१४, नेकपाका छोटेलालप्रसाद पाण्डेय दुई हजार १३७ र जनमत पार्टीका मालतीकुमारी कुसवाहाले ५८३ मत पाए ।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । रास्वपाका उम्मेदवार शाक्य कांग्रेसका रमेश रिजाललाई १५ हजार ४७२ मतले पराजित गर्दै विजयी भएका हुन् । शाक्यले कुल २८ हजार ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी रमेश रिजालले भने १२ हजार ५३४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी एमालेका जालिम मियाँ मन्सुरीले भने १२ हजार १४५ मत प्राप्त गरेका छन् । पर्सा ४ मा रहेको कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको थियो ।
यसरी प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा जिल्लाका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै जिल्लाभर क्लिनस्विप गर्न सफल भएका छन् । ०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट तत्कालीन जसपाका उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट घुस लेनदेन गरेको आरोपमा पुर्पक्षका लागी कारागारमा रहेका नेकपा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका थिए ।