- नौसेना युद्धसम्बन्धी कानुनले शत्रु पक्षकै जहाजमाथि पनि आक्रमण गरेपछि बाँचेकाहरूको उद्धार गर्नुपर्ने व्यवस्था गरेको छ
यो साता अमेरिकाको पनडुब्बीले इरानी युद्धपोत ‘आइआरआइएस डेना’लाई तरपिडो हानेर डुबाएको समाचारले धेरै पर्यवेक्षकलाई अचम्मित बनायो । आक्रमण चीनलाई मध्यपूर्वसँग जोड्ने प्रमुख व्यापार मार्गअन्तर्गतको श्रीलंकाको तटबाट करिब ४० नटिकल माइल टाढा भएको थियो । युद्धको मुख्य क्षेत्र फारस खाडीबाट यति टाढा भएको आक्रमणले इरान–अमेरिका युद्ध थप विस्तारित हुँदै गएको संकेत गर्छ । यस घटनाले सैन्य र कानुनी घेराबाहिर बिरलै चर्चा हुने नौसेना युद्धमा लागू हुने कानुनमाथि प्रकाश पारेको छ । कैयौँले यो आक्रमण वैध भए–नभएको प्रश्न गरिरहेका छन् । यस बहसमा समुद्री आक्रमणपछि जहाजबाट उम्किएकाहरूको उद्धार गर्ने दायित्व कसको थियो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
युद्धपोत डुबाउनुको वैधता
नौसेना युद्धसम्बन्धी कानुन सशस्त्र द्वन्द्वसम्बन्धी कानुनअन्तर्गतको उपकानुन मानिन्छ । नौसेना युद्धसम्बन्धी कानुनले द्वन्द्वको समयमा समुद्रमा रहेका द्वन्द्वरत लडाकु, आमनागरिक र तटस्थ अभिनेताले के गर्न पाउने या नपाउने भन्ने नियम तय गर्छ । महत्वपूर्ण कुरा, यो कानुन मुख्य युद्धको सुरुवात आफैँ वैध थियो कि थिएन भन्ने पर्वाह नगरी लागू हुन्छ । अर्को शब्दमा भन्दा युद्धको सम्पूर्ण औचित्य अन्तर्राष्ट्रिय कानुनअन्तर्गत कानुनी नभए पनि समुद्री कानुन भने पालना गर्नैपर्छ ।
यति मात्र होइन, युद्ध औपचारिक रूपमा घोषणा नगरिएको समयमा समेत समुद्रमा पालना गर्नुपर्ने व्यवहार नौसेना युद्धसम्बन्धी कानुनद्वारा नियमन गरिन्छ । नौसेना युद्धको कानुनलाई समुद्रका लागि लागू हुने संयुक्त राष्ट्र संघको महासन्धिभन्दा माथि मानिन्छ, जसलाई कानुनी भाषामा ‘लेक्स स्पेसलिस’को सिद्धान्त भनिन्छ । यी नियम राज्यले समुद्रमा द्वन्द्वको आचरणलाई नियमन गर्न खोज्ने क्रममा शताब्दीयौँदेखि विकसित भएका हुन् ।
यी कानुनका आधारमा हेर्दा अमेरिकाले इरानी युद्धपोतमाथि आक्रमण गर्नु वैध थियो । नौसेना युद्धको कानुनअन्तर्गत, अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वमा संलग्न राज्यका युद्धपोत स्वत: सैन्य लक्ष्य मानिन्छन् । यस्तोमा तिनलाई लक्षित गर्न पाउनु वैध हो । यस्ता आक्रमण युद्धमा संलग्न भएका देशको क्षेत्राधिकार रहने १२ नटिकल माइलभित्रबाहेक जहाँ पनि गर्न पाइन्छ । तथापि, सशस्त्र द्वन्द्वका सहभागी राज्यको कानुन लाग्ने १२ नटिकल माइलभित्र भने आक्रमण वैध मानिन्छ ।
यदि इरानी युद्धपोत त्यस समयमा श्रीलंकाको कानुन लाग्ने, अर्थात् श्रीलंकाको तटबाट १२ नटिकल माइलभित्र भएको भए आक्रमण अवैध हुने थियो । तर, इरानी युद्धपोत ‘आइआरआइएस डेना’ श्रीलंकाको तटबाट ४० नटिकल माइलबाहिर रहेकाले त्यो नौसेना युद्ध कानुनअनुसार एक वैध सैन्य लक्ष्य हो ।
बाँचेकाहरूको उद्धारबारे कानुनले के भन्छ ?
नौसेना युद्धको कानुनले शत्रुपक्षकै जहाजमाथि पनि आक्रमणपछि बाँचेकाहरूको उद्धारसम्बन्धी दायित्व तोकेको छ । सन् १९४९ को दोस्रो जेनेभा महासन्धिले द्वन्द्वका पक्षराष्ट्रले प्रत्येक आक्रमणपछि नष्ट भएका जहाजमा रहेका घाइते तथा असशस्त्र बिरामीको खोजी तथा बचाउ गर्न सबै सम्भावित उपाय अपनाउनुपर्ने भनेको छ । यी नियम नौसेना युद्धमा लागू हुन्छन् । अर्थात्, युद्धरत पक्षले शत्रुपक्षका मानिसको पनि आक्रमणपछि सहयोग गर्र्नुपर्ने व्यवस्था छ ।
तथापि, व्यवहारमा भने पनडुब्बीले यस्तो दायित्व पूरा गर्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । जस्तो, पनडुब्बीले आक्रमण गरेपछि शत्रुपक्षका बचेका लडाकुको उद्धार गर्ने हो भने सतहमा आउनुपर्ने हुन्छ । पनडुब्बी भनेकै शत्रुहरूबाट अवस्थिति लुकाउन समुद्री सतहबाट मुनि रहेर काम गर्ने उद्देश्यले बनाइएको हुन्छ । सतहमा आउनासाथ पनडुब्बी र त्यसमा सवार नै जोखिममा पर्न सक्छन् । त्यसबाहेक पनडुब्बीको बनोटका कारण पनि त्यसमा ठुलो संख्यामा बाँचेकाहरूलाई राख्न सकिँदैन । तथापि, पनडुब्बीले आफ्नो सुरक्षाका सतहमा आउन नसक्ने भए पनि यसले नजिक रहेका अन्य जहाज वा अधिकारीलाई आक्रमण गरिएका जहाजको स्थानबारे खबर गरेर उद्धारलाई सहज बनाउन सक्छ । यो अभ्यास पनडुब्बी युद्धमा केही प्रमुख कानुनी टिप्पणीमा उल्लेख गरिएको छ ।
‘आइआरआइएस डेना’माथि आक्रमणपछि बचेका नाविकको उद्धारका लागि श्रीलंकाली नौसेना पुगेको थियो । तिनले ३२ जना नाविकलाई उद्धार गरेका थिए । श्रीलंकाली नौसेनाको द्रुत प्रतिक्रियाका लागि पनडुब्बीले घटनाबारे तुरुन्तै जानकारी गराइएको संकेत देखिन्छ । (३२ जनालाई बचाउनुका अतिरिक्त श्रीलंकाली अधिकारीले ८७ शव पनि भेटेका थिए ।) तथापि, श्रीलंकाली नौसेनालाई कसरी जानकारी गराइएको थियो भन्नेबारे अझै स्पष्ट गरिएको छैन । तथापि, अमेरिकी नौसेनाले बाँचेकाको स्थान प्रसारण गरेको प्रारम्भिक समाचार आएका छन् । आइआरआइएस डेनाले भोगेको क्षतिको स्तर र अक्रमणमा भएको हताहतीको संख्यालाई ध्यान दिँदा जहाजको चालक दल आफैँले आफ्नो स्थान प्रसारण गर्न सक्षम रहेको सम्भावना थिएन ।
माथिका सबै तथ्य केलाउँदा इरानसँगको द्वन्द्वमा संयुक्त राज्य अमेरिकाको प्रवेशको कानुनी औचित्यमाथि बहस जारी रहँदा समुद्रमाथि शत्रुपक्षका वाहनमाथि आक्रमणबारे नौसेना युद्धको कानुन लागू हुन्छ । र, यस कानुनले इरानी जहाज अमेरिकाको वैध सैन्य लक्ष्य ठहर गर्छ । साथै, आक्रमणपछि पनडुब्बीले जहाजमा बाँचेकाहरूको उद्धारलाई सहज बनाउने प्रयास गरेको पनि देखिन्छ ।
(पार्कर युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका रक्षा तथा सुरक्षा संस्थानका सहायक प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट