काठमाडौं उपत्यकामा रास्वपा एकछत्र, प्रतिस्पर्धी कांग्रेस

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण
  • काठमाडौं ३ र ८ तथा भक्तपुर १ र २ बाहेक ११ क्षेत्रमा रास्वपाको निकटतम प्रतिस्पर्धी कांग्रेस ०७९ को चुनावमा उपत्यकाका १५ सिटमध्ये कांग्रेस ६, रास्वपा पाँच, एमाले तीन र नेमकिपाले एक सिट जितेका थिए 

१५ निर्वाचन क्षेत्र रहेको काठमाडौं उपत्यकामा पनि रास्वपाले एकछत्र नतिजा निकालेको छ । शुक्रबार मध्यरातिसम्म सार्वजनिक नतिजाअनुसार आठ क्षेत्रमा रास्वपा विजयी भएको छ भने मतगणना भइरहेका सातवटै क्षेत्रमा पनि अगाडि छ । 

काठमाडौं १ मा रञ्जु दर्जना (न्यौपाने), ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र १० मा प्रदीप विष्ट निर्वाचित भएका छन् । खनाल, पराजुली र श्रेष्ठ यसअघि ०७९ मा पनि सांसद बनेका थिए । रञ्जु, पाण्डे, बम, पोखरेल र  विष्टको पहिलो संसद् यात्रा हो । मतगणना भइरहेका बाँकी सात  क्षेत्रमा पनि रास्वपाका उम्मेदवार नै अगाडि छन् । काठमाडौं २ मा रास्वपाका सुनील केसी र ९ मा डिपी अर्यालको अग्रता छ । त्यस्तै, ललितपुर १ मा बुद्धरत्न महर्जन, २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्की अगाडि छन् । 

यसैगरी, नेमकिपाको गढ मानिएको भक्तपुर १ मा पनि रुकेश रञ्जित अगाडि छन् । यहाँ नेमकिपाका प्रेम सुवालले पछ्याइरहेका छन् । सुवालले ०७९ को चुनावमा ४२ हजार मतान्तरले जितेका थिए । भक्तपुर २ मा रास्वपाका राजीव खत्रीलाई एमालेका महेश बस्नेतले पछ्याइरहेका छन् । 

काठमाडौं ३ र ८ तथा भक्तपुर १ र २ बाहेक ११ क्षेत्रमा निकटतम प्रतिस्पर्धी कांग्रेस देखिएको छ । ०७९ को चुनावमा उपत्यकामा कांग्रेस ६, रास्वपा पाँच, एमाले तीन र नेमकिपा एक सिटमा विजयी भएका थिए । काठमाडौंका १० मध्ये १, ३, ४, ५ र १० मा कांग्रेस विजयी भएको थियो भने रास्वपाले २, ६, ७ र ८ मा जित निकालेको थियो । ९ मा एमाले विजयी भएको थियो । त्यस्तै, ललितपुरमा १ मा कांग्रेस, २ मा एमाले र ३ मा रास्वपा विजयी भएका थिए । भक्तपुर १ मा नेमकिपाले जित्दा २ मा एमाले विजयी भएको थियो । 

रञ्जुको मेयर बन्ने धोको अधुरो, माननीयमा निर्वाचित 
०७४ को चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना (न्यौपाने)लाई सफलता मिलेन । त्यतिखेर उनी तत्कालीन विवेकशील पार्टीबाट चुनाव लडे पनि एमालेका विद्यासुन्दर शाक्य विजयी भए । यद्यपि, २३ हजार ४३९ मत ल्याइन् ।

त्यति मात्र होइन त्यसको पाँच वर्षपछि उनले संसदीय राजनीतिका लागि काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडिन् । ०७८ मा तत्कालीन विवेकशील पार्टीमा विवाद चुलिएपछि बाहिरिएकी रञ्जुलाई प्रतिनिधिसभा चुनावमा सफलता मिलेन, बरु जमानत नै जफत भयो, ६ सय मत मात्र पाइन् ।

तर, गत भदौमा भएको जेन–जी विद्रोहको बलमा बिहीबार भएको चुनावमा भने उनी रास्वपाबाट काठमाडौं १ मा उम्मेदवार बनिन् । उनी १५ हजार ४५५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ र राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत मात्र पाए । 

रास्वपाको जितको खाता खोलेकी उनको जितपछि शुभेच्छुकले शुक्रबार विजयी उत्सव पनि मनाए । जितको प्रमाणपत्र बुझ्न नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्र पुग्दा रञ्जुको अनुहारमा हर्ष देखिन्थ्यो । तर, शरीर थकित थियो । ११ दिने सुत्केरी ज्यान, त्यसमाथि चुनावी दौडधुपले गलेकी देखिन्थिन् । गर्भवती अवस्थामा चुनावी प्रचारप्रसारमा समेत सक्रिय रहेकी उनी सुत्केरी भएपछि भने केही दिन प्रचारप्रसारमा हिँड्न पाइनन् । रञ्जुले आफू र रास्वपाको जित नेपाललाई गति दिने गतिलो वैकल्पिक शक्तिको जित रहेको बताइन् । ‘जनतालाई वैकल्पिक राजनीतिक दलप्रति विश्वास भयो, हामीलाई भरोसा गरेर मत दिनुभयो, पुराना दलहरूले जसरी धोका दिँदैनौँ,’ उनले सुनाइन् । 

यसैगरी, काठमाडौं महानगरका पूर्व नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौं ३ बाट जिजयी भएका छन् । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङलाई ११ हजार १७१ मतले हराउँदै उनी चुनिएका हुन् । पाण्डेले १८ हजार ७५७ मत पाए । 

दोहोरिएको श्रेष्ठ र खनालले ०७९ को भन्दा दोब्बर मतले जिते 
०७९ मा संसद यात्रा थालेका विराजभक्त श्रेष्ठले काठमाडौं ८ मा फराकिलो मतान्तरले जितेका छन् । उनी २४ हजार ५९२ मतसहित विजयी भएका हुन् । ३६ हजार ४९२ मतमा उनले ६० प्रतिशतभन्दा धेरै पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे भने कांग्रेसकी सपना राजभण्डारीले दुई हजार ८३५ प्राप्त गरिन् । श्रेष्ठले यसअघि ०७९ को चुनावमा १० हजार १०५ मत प्राप्त गर्दै विजयी भएका थिए । 

त्यस्तै, ०७९ को निर्वाचनमा शिशिर खनाल १४ हजार २०४ मतसहित विजयी भएकामा यसपटक त्यसको झन्डै दोब्बर मतले जित हात पारे । खनालले २७ हजार ७१९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ‘सबुज’ ले ६ हजार ६४७ मत प्राप्त गरेका छन् । यसैगरी, काठमाडौं ४ मा पुकार बम २९ हजार १४१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सचिन तिमल्सेना र एमालेका राजन भट्टराई रहे । काठमाडौं ५ मा सस्मित पोखरेल  ३० हजार ७३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी  कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र एमालेका इश्वर पोखरेलले  ४ हजार ७०१ मत मात्र पाए । 

यसैगरी, काठमाडौं ७ मा २७ हजार ८०५ मतले गणेश पराजुली विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ९८२ मत ल्याउँदा एमालेका वसन्तप्रसाद मानन्धरले तीन हजार ६६७ मत मात्र ल्याए । त्यस्तै, काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले आठ हजार एक सय मत ल्याए भने एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत प्राप्त गरेका छन् । 

सुझावित समाचार