मकवानपुरमा साढे १० बजेदेखि मतगणना सुरु हुने

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना आज बिहान १०ः३० बजेदेखि सुरु हुने भएको छ। बिहान ७ बजेदेखि सुरु भएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै उक्त समयमा मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार सर्वदलीय छलफलपछि मतगणनाको प्रक्रिया अघि बढाइनेछ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने व्यवस्था गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विद्यालयका दुई ब्लकमा मतगणना गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना ‘ए’ ब्लकको उत्तरतर्फको भवनमा गरिनेछ भने क्षेत्र नम्बर २ को मतगणना ‘बी’ ब्लकमा गरिनेछ। यसअघि सम्पन्न मतदानमा मकवानपुरमा करिब ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ रहेकामा एक लाख ८६ हजार ५५१ मत खसेको हो।

खसेको मतमध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य पाँचजनाले मतदान गरेका छन्। विवरणअनुसार मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरी कुल ९५ हजार ३१० मत खसेको छ। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र एक अन्य गरी ९१ हजार २४१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

See More On

सुझावित समाचार