हिमाली मतदान केन्द्रमा मतदाता पर्खँदै मतदान अधिकृत, जिल्लामा मध्याह्नसम्म २८ प्रतिशत मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङका दुर्गम हिमाली बस्तीका केही मतदान केन्द्रमा मतदाता कम उपस्थित हुँदा मतदान अधिकृतहरू मतदाता पर्खेर बसेका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका– ७ मा पर्ने यांमा मतदान केन्द्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। उक्त केन्द्रमा सबैभन्दा कम ६२ मतदाता रहेका छन्। तीमध्ये हालसम्म १२ मत मात्रै खसेको छ। बाँकी मतदाता नआएपछि मतदान अधिकृतसहितको टोली मतदाताको प्रतीक्षामा बसेको छ।

यस्तै, फक्ताङलुङ गाउँपालिकाकै हिमाली बस्ती ओलाङचुङगोला मतदान केन्द्रमा २९३ मतदाता रहेकोमा हालसम्म ४२ मत खसेको छ। अन्य मतदाता मतदानका लागि नआएपछि त्यहाँका मतदान कर्मचारी पनि मतदाता पर्खिरहेका छन्।सिरिजंघा गाउँपालिका– ६ मा रहेको ग्याब्ला मतदान केन्द्रमा ६९ मतदाता रहेका छन्। त्यसमध्ये २६ जनाले मतदान गरेका छन् भने बाँकी मतदाताको प्रतीक्षामा मतदान अधिकृतको टोली बसेको छ।

त्यस्तै, घुन्सा मतदान केन्द्रमा १७३ मतदाता रहेका छन्। सो केन्द्रमा हालसम्म ३१ मत खसेको छ। अहिले त्यहाँ अन्य मतदाता नआएकाले मतदान कर्मचारीहरू मतदाता आउने आशामा कुरेर बसेका छन्। हिमाली भेगका यी बस्तीहरू अत्यन्त दुर्गम र विरलै जनसंख्या भएको क्षेत्र भएकाले मतदानको गति सुस्त देखिएको हो।

यसैबिच समग्र ताप्लेजुङ जिल्लामा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा रहेका ९० हजार ३२७ मतदातामध्ये २५ हजार २९१ जनाले मध्याह्नसम्म आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

सुझावित समाचार