निर्वाचन आयोगले निर्वाचन बिथोल्ने कुनै तत्त्व नरहेको स्पष्ट पार्दै नागरिकलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म निर्वाचन अवरोध गर्ने कुनै भूमिगत समूह वा तत्त्वको पहिचान नभएको जानकारी दिए। उनले निर्वाचन सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको उल्लेख गर्दै मतदातालाई नडराई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सरकार गठनपछिको राजनीतिक परिवेशमा सुरक्षासम्बन्धी केही संशय देखिए पनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको विषयलाई पनि आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। आयोगका अनुसार मतदाताको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।
आयोगले सबै मतदातालाई निर्धक्क र उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ।