श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ गते हुने निर्वाचन केवल सरकार गठनका लागि नभई देश जोगाउने अभियान भएको बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले मतदातालाई मतदान गर्दा विकासका वाचाभन्दा देशको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)जस्ता विषयमा आपत्ति जनाए। यस्ता विषयका सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय द्वन्द्वमा तान्ने खतरा रहेको उनको दाबी थियो। ‘हामी हाम्रो देशलाई अर्को युक्रेन र मध्यपूर्वका देशजस्तो बनाउने जोखिम लिन चाहँदैनौँ,’ उनले भने।
पछिल्लो समय खाडी मुलुकहरूमा देखिएको द्वन्द्व र विदेशी सैन्य अखडामा भएका हमलाको उदाहरण दिँदै उनले नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिए। त्यसको सम्भावना श्रम संस्कृति पार्टीबाट मात्रै रहेको उनको दावी थियो।
साम्पाङले नागरिकले बजारमा तरकारी किन्दा दाग लागेको छ कि छैन भनेर जाँच गरेजस्तै मतदान गर्दा पनि उम्मेदवारको चरित्र र प्रतिबद्धता हेर्नुपर्नेमा जोड दिए। ‘हामीलाई राम्रो सामान चाहिन्छ, गोलभेंडा किन्दा पनि दाग छ कि छैन भनेर हेर्छौँ। त्यसरी नै नेतृत्व छान्नुस्,’ उनले भने।
जीवन स्वभावतः जोखिमपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारको मुख्य दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु रहेको बताए। ‘सरकार भनेको अभिभावक हो। आमाबुवाले बच्चालाई जोगाएजस्तै राज्यले नागरिकलाई जोगाउनुपर्छ। लोकतन्त्रमा सरकार तपाईंको भोटले बन्छ, त्यसैले सोचेर मतदान गर्नुहोस्,’ उनले भने।
अध्यक्ष साम्पाङले नेपाललाई ‘भरियाको देश’ नभई आविष्कारकहरूको देश बनाउनुपर्ने धारणा राखे। युवापुस्तालाई कपी–पेस्ट संस्कृतिबाट बाहिर निस्केर सिर्जनात्मक सोच विकास गर्न आग्रह गर्दै उनले स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिए। आफ्नो पार्टीको चुनाव चिह्न ‘माटो’ उत्पादन, श्रम र आत्मनिर्भर अर्थतन्त्रको प्रतीक रहेको उल्लेख गर्दै उनले भने, ‘अरूले आइफोन बनायो भनेर गफ गर्ने होइन, हामी आफैँ उत्पादन गर्नसक्ने हुनुपर्छ।’ कृषि उत्पादनबिना औद्योगिक विकास सम्भव नहुने उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीको नेतृत्वमा सरकार बने शिक्षा र कृषिमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले पार्टीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउने बताए। ‘यदि हाम्रा उम्मेदवारले भ्रष्टाचार गरे भने म आफैँ आएर मोसो दलिदिन्छु,’ उनले भने, ‘मैले पनि भ्रष्टाचार गरेँ भने ३ करोड नेपालीले जहाँ भेट्नुहुन्छ त्यहिँ कालो मोसो दल्नुस।’
साम्पाङले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै श्रम शक्ति पार्टीका विद्या श्रेष्ठ र मन्दिरा मुक्तानजस्ता महिला उम्मेदवारलाई मतदान गर्न अपिल गरे। महिलालाई घरभित्र सीमित नराखी नेतृत्व तहमा पु¥याउनुपर्ने उनको भनाइ थियो।