नेपाल विद्युत् प्राधिकरणलाई भारतबाट गर्मीयामका लागि थप बिजुली ल्याउन सकस भएको छ । प्राधिकरणले भारतबाट थप १०० मेगावाट विद्युत् खरिद गर्न आह्वान गरेको दोस्रोपटकको टेन्डरमा पनि कुनै प्रस्ताव नपरेको हो ।
प्राधिकरणले आगामी अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा भारतबाट थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न दोस्रोपटक १ फागुनदेखि १० फागुनसम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । त्यस अवधिमा प्रस्ताव नपरेपछि पाँच दिन म्याद थप गरिएको थियो । तर, अन्तिम दिन शुक्रबारसम्म पनि कुनै पनि भारतीय विद्युत् व्यापार कम्पनीले प्रस्ताव पेस गरेनन् । योसँगै मार्चपछिको विद्युत् व्यवस्थापनमा चुनौती थपिने देखिएको छ । प्राधिकरणले म्याद थप पनि गरेको छैन ।
प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा २४ घण्टा नै थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न पहिलोपटक गत जनवरी १९ देखि २८ तारिख (४ माघदेखि १४ माघ)सम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । त्यसमा विद्युत्को खरिद दर अधिकतम ६.९० भारु तोकिएको थियो । तर, त्यसमा कुनै पनि प्रस्ताव परेन । त्यसपछि प्राधिकरणले सोही मूल्यमै अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा १००–१०० मेगावाट विद्युत् खरिद गर्न दोस्रोपटक टेन्डर आह्वान गरे पनि कुनै पनि भारतीय कम्पनी बिजुली दिन तयार भएनन् ।
बर्खामा विद्युत् निर्यात गर्ने नेपालले सुक्खायाममा भने आयात गर्नुपर्छ । प्राधिरकणले अहिले इन्डियन इनर्जी एक्सचेन्जबाट ६ सय ६४ मेगावाटसम्म र पिटिसी इन्डियाबाट एक सय ८० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गरिरहेको छ । पिटिसीसँगको सम्झौताको म्याद मेसम्म भए पनि इन्डियन इनर्जी एक्सचेन्जबाट विद्युत् खरिद गर्न पाउने अनुमतिको अवधि भने १७ चैत (३१ मार्च)सम्म छ । त्यसपछि २४ घण्टा नै बिजुली पाउनेमा चुनौती छ । गर्मीका कारण मार्चपछि भारतमा पनि विद्युत्को माग धेरै हुन्छ । विगतमा भारतले यो समयमा पिक आवर वा रातिको समयमा विद्युत् दिने गरेको थिएन । यसपालि पनि सोही प्रवृत्ति दोहोरिन सक्ने भन्दै प्राधिकरणले ‘ब्याकअप’मा थप १०० मेगावाट विद्युत् पिपिए नै गरेर २४ घण्टा नै आयात गर्न खोजेको थियो । तर, टेन्डरमा कुनै पनि भारतीय कम्पनीले प्रस्ताव पेस गरेनन् । यो अवस्थामा मार्चपछि पनि इनर्जी एक्सचेन्ज मार्केटबाट २४ घण्टा नै विद्युत् खरिद गर्न मिल्ने गरी त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति ल्याउनुपर्ने दबाब बढेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले १०० मेगावाट खरिद गर्न आह्वान गरिएको टेन्डरमा प्रस्ताव नपरेको बताए । ‘विद्युत्को परिमाण र आपूर्ति हुने समय दुई महिना मात्रै भयो । थोरै समयका लागि थोरै परिमाण भयो । त्यसले गर्दा पनि भारतीय कम्पनीले टेन्डर प्रक्रियामा आएर झन्झट गर्न चाहेनन् होला,’ उनले भने, ‘यसैगरी, त्यो समयमा भारतमा पनि विद्युत्को माग धेरै हुन्छ । त्यसवेला उपलब्ध हुने बिजुली अहिले नै बुक भइसकेको छ । बाँकी रहेको बिजुली पनि त्यसवेला राम्रो मूल्यमा बिक्री गर्ने योजनामा छन् । त्यसले गर्दा पनि बिजुली पाउन सकिएन ।’
यद्यपि, विद्युत् नपाएको अवस्थामा आपूर्ति धेरै प्रभावित नहुने उनले बताए । ‘अहिले नयाँ परियोजना थपिने क्रम जारी छ । नेपाल–भारत इनर्जी एक्सचेन्ज (पिटिसी)सँगको बैठक पनि आगामी मार्चमा बस्दै छ, त्यहाँबाट पनि केही विकल्प आउँछ । इनर्जी एक्सचेन्ज मार्केटबाट पनि २४ घण्टा नै विद्युत् पाउने गरी पहल गर्छाैँ,’ उनले भने, ‘थप १०० मेगावाट विद्युत् नपाउँदैमा आपूर्तिमा ठुलो असर देखिँदैन ।’
अर्काे सिजनमा २०० मेगावाट विद्युत् किन्न अहिले नै टेन्डर
प्राधिकरणले अहिले सहजै विद्युत् नपाएपछि अर्काे वर्षमा हिउँदमा दुई सय मेगावाट विद्युत् किन्न अहिले नै टेन्डर आह्वान गरेको छ । यसमा मूल्यको सीमा तोकिएको छैन । ११ फागुनमा आह्वान गरिएको टेन्डरको म्याद आगामी २६ चैत (९ अप्रिल)सम्म छ । त्यसैगरी, बर्खामा पाँच सय मेगावाट विद्युत् बिक्री गर्ने प्रस्ताव पनि त्यससँगै मागिएको छ ।
‘आउँदो बर्खामा पाँच सय मेगावाट बिक्री र हिउँदमा दुई सय मेगावाट खरिद गर्ने गरी टेन्डर आह्वान गरेका छौँ । पाँच वर्षका लागि विद्युत् खरिद–बिक्री सम्झौता गर्ने गरी टेन्डर आह्वान गरिएको छ,’ उनले भने, ‘यसले बर्खामा उत्पादन हुने विद्युत्को बजार व्यवस्थापन र हिउँदको आपूर्तिलाई सहज बनाउने अपेक्षा गरिएको छ ।’ यो टेन्डरमा भारतीय विद्युत् व्यापार कम्पनी सहभागी हुन सक्नेछन् ।