बर्दियामा फैलिन थाल्यो उखुखेती

आइतबार, १३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • राजापुरमा गत वर्ष चिनी मिल खुलेपछि किसानले लगाउन थाले उखु, धानभन्दा राम्रो आम्दानी भएको किसानको प्रतिक्रिया

बर्दिया- बर्दियाका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एन्डकेमिकल इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएपछि जिल्लाका किसानले उखुखेती गर्ने क्रम बढेको हो ।

परम्परागत खेतीको तुलनामा उखुखेतीमा फाइदा हुने भएपछि यसतर्फ किसान आकर्षित भएको राजापुर नगरपालिका– ९, बैठकपुरका केशव पौडेलले बताए । उनले १५ बिघामा उखुखेती गरेका छन् । ‘दुई वर्षअघि १५ बिघामा उखु लगाएको थिएँ । यो वर्ष थप १० बिघामा लगाउँदै छु,’ उनले भने ।

एक बिघामा एक हजार क्विन्टल उखु उत्पादन हुने गरेको उनले जानकारी दिए । ‘धानखेतीभन्दा उखुखेतीमा तेब्बर बढी आम्दानी हुन्छ ।’ राजापुर नगरपालिका– ९, गोडियानाका मुकेशकुमार शर्माले पनि १३ बिघामा उखुखेती गरेका छन् । उनले नगदे बालीका रूपमा उखुखेती गरेको बताए । परम्परागत रूपमा गरिने धान, गहुँ र तोरीखेतीको तुलनामा उखुखेतीबाट आम्दानी धेरै राम्रो भएको उनले सुनाए । ‘पहिले धान, गहुँ र तोरीखेतीको विकल्प थिएन, चिनी मिल खुलेपछि नगदे बालीका रूपमा उखुखेती गर्ने बाटो खुलेको छ,’ उनले भने, ‘यस वर्ष थप पाँच बिघामा खेती गर्दै छु ।’

धानखेतीभन्दा उखुमा मल र मिहिनेत थोरै लाग्ने भएकाले किसान यसतर्फ आकर्षित भएको उनले बताए । ‘धानभन्दा उखुखेतीमा एकदमै कम मिहिनेत र कम रासायनिक मल आवश्यक पर्छ,’ उनले भने, ‘पहिलो वर्ष अलिकति बढी खर्च लाग्छ । दोस्रो वर्षदेखि वर्षमा ६० दिन समय दिए पुग्छ । उखुलाई अलि–अलि गोडमेल र थोरै रासायनिक मल दिए पुग्छ ।’

एकपटक लगाएको उखुबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने उखु किसान थर्कबहादुर शाहले बताए । कैलाली घर भएका शाहले राजापुरमा १० बिघा जमिन भाडामा लिएर उखुखेती गरेका छन् । ‘नगदे बालीका रूपमा भएकाले उखुखेती एकदमै राम्रो छ । बिक्री हुन्न कि भन्ने चिन्ता पनि छैन । उखु तौल भएको एक हप्तामा खातामा पैसा आउँछ,’ उनले भने । 

किसानलाई आकर्षित गर्न चिनी मिलले उखुको बिउ, रासायनिक मल, जोत्नका लागि ट्याक्टर, मजदुर खर्च, इन्धन, प्राविधिकलगायत सहयोग गर्दै आएको शाहको भनाइ छ । ‘पैसा नभएकालाई खेतीका लागि सुगर मिलले विनाब्याजको पैसा दिन्छ,’ उनले भने, ‘दिएको पैसा उखु खरिदपछि किसानले पाउने रकमबाट कटाउँछ । यसले पैसा नभएकालाई पनि उखुखेती गर्न सहयोग मिलेको छ ।’

विशेषगरी राजापुर क्षेत्रलाई लक्षित गरी राजापुर सुगर एन्ड केमिकल इन्डस्ट्रिज स्थापना भएका प्रशासन प्रमुख इन्द्रप्रसाद ढकालले बताए । उनले बर्दियाको मधुवन, बारबर्दिया, गेरुवा र राजापुर तथा कैलालीको आठवटा पालिकालाई उद्योगले समेट्ने बताए । ‘राजापुरमा २८ हजार हेक्टरखेती योग्य जमिन छ । योमध्ये पाँच हजार हेक्टरमा उखुखेती गरे हामीलाई उद्योग चलाउन पुग्छ,’ उनले भने ।

गत वर्ष परीक्षण उत्पादन गरेको उद्योगले ४० हजार क्विन्टल चिनी उत्पादन गरेको बताउँदै उनले दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको बताए । 

सुझावित समाचार