हिमपातसँगै पाथीभरा क्षेत्रमा पर्यटकको रमझम

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको चिया पसलदेखि गाउँका चौतारामा चुनावको चर्चा चलिरहँदा उच्च हिमाली भेग भने यो माहोलबाट निकै टाढा छ । उच्च क्षेत्रमा हिमपात भएसँगै पर्यटकको चहलपहल प्रमुख विषय बनेको छ । सेताम्य बनेको पाथीभरा क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका कारण स्थानीय होटेल व्यवसायी पाहुना सत्कारमै व्यस्त छन् । पाथीभराको माथिल्लो फेदीमा होटेल व्यवसाय गर्ने सीता भट्टराई कार्कीले चुनावी माहोलले यो क्षेत्रलाई नछोएको बताइन् ।

‘हामीलाई यहाँ चुनाव लागेको जस्तो अनुभूति नै हुँदैन,’ एक स्थानीय व्यवसायी भन्छन्, ‘हिउँ परेपछि पाहुना बढेका छन्, सेवा गर्नै फुर्सद छैन ।’ स्थानीयका अनुसार उच्च हिमाली क्षेत्रमा बसोवास कम र व्यावसायिक गतिविधि बढी भएकाले राजनीतिक दलको ध्यान पुग्न सकेको छैन ।

यसैबिच मौसम अनुकूल बनेपछि पाथीभरा क्षेत्रमा पर्यटक आगमन बढ्दो छ । चीन, भारत, मलेसियालगायत मुलुकका पर्यटकसँगै नेपाली तीर्थयात्री पनि हिमदृश्य अवलोकन गर्न पुगेका छन् । हिमपातपछि पहाडी मार्ग सेताम्य बने पनि जोखिम भने कम रहेको व्यवसायीहरू बताउँछन् । स्थानीयका अनुसार हिमाली जीवन आफ्नै लयमा अघि बढिरहेको छ ।

सुझावित समाचार