निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार कार्यक्रममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा विभिन्न दल तथा उम्मेदवारबाट प्रचारप्रसारमा अवरोध भएको गुनासो र उजुरी प्राप्त भएको जनाएको छ। विभिन्न सञ्चारमाध्यमबाटसमेत यस्ता गतिविधिबारे जानकारी आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(१)(ङ) अनुसार कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला बिथोल्न वा अवरोध गर्न नपाइने व्यवस्था छ। त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा २० अनुसार निर्वाचन प्रक्रियामा बाधा पुर्याएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, आमनागरिक तथा सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

सुझावित समाचार