प्रदेश खारेजी पक्षधर रास्वपाले मत तान्न जनतालाई भ्रममा पारिरहेको छ : उपेन्द्र यादव

‘कांग्रेस र कम्युनिस्टले संघीयता चाहेकै थिएनन्’

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताविरोधीहरूबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन्।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले डाक्नेश्वरी नगरपालिका– ८ मा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश खारेज गरेर फेरि मधेशी जनतालाई गुलाम बनाउन खोजिएको गम्भीर आरोप लगाए।

नेपाली कांग्रेस र कम्युनिस्टको इच्छाविपरीत देशमा संघीयता आएको दाबी गर्दै यादवले नयाँ शक्तिको नाममा आएको रास्वपाले पनि मधेशीको मत तान्न भ्रममा पारेको बताए। उनले भने, ‘कांग्रेस, कम्युनिस्टले संघीयता चाहेकै थिएनन्। आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो संघीयता र प्रदेश खारेजीको पक्षमा छ, अहिले विभिन्न आवरणमा मधेशी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छन्।’ यसअघि प्रदेश सभा निर्वाचनमा रास्वपाले उम्मेदवारीसमेत नदिएको उल्लेख गर्दै उनले भुलभुलैयामा नपर्न आग्रह गरे।

हरेक राजनीतिक परिवर्तनहरूमा सप्तरीले निर्णायक भूमिका निर्वाह गरे पनि सरकारको विभेदकारी नीतिका कारण अपेक्षाकृत विकास हुन नसकेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले टिप्पणी गरे। ‘अहिलेसम्मको अवस्था हेर्दा सही जनप्रतिनिधि चुन्ने वेला नै गल्ती गर्ने गरेको पाइएको छ,’ उनले भने।

हावाको पछि नलाग्न आग्रह गर्दै अध्यक्ष यादवले विगतको कामको समेत मूल्यांकन गरेर मतदान गर्न आह्वान गरे। आगामी निर्वाचनपछि संविधान संशोधन गरेर संघीयतालाई अधिकारसम्पन्न बनाउनुका साथै मधेशीलगायत उपेक्षित उत्पीडित जनताको भविष्य लेखिने भएकाले गम्भीर हुन उनले मतदातासँग आग्रह गरे।

सुझावित समाचार