उत्तर कोरियामा किमले छनोट गरे छोरीलाई उत्तराधिकारी

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारीका रूपमा छनोट गरेका छन् । किमले  आफ्नी १३ वर्षीया छोरी किम जु एईलाई उत्तराधिकारीका रूपमा छनोट गरेको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ । जु एई पछिल्लो समयमा आफ्ना बाबुको उच्च तहका भ्रमणमा सहभागी भएकी थिइन् । सेप्टेम्बरमा किमको बेइजिङ भ्रमणका क्रममा उनी बाबुसँगै साथ थिइन्, जुन उनको पहिलो विदेश यात्रा थियो । सरकारी कार्यक्रममा पनि जु एईको बाक्लो उपस्थिति रहेको अनुभव गरिएको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस)ले जनाएको छ ।

एनआइएसले यो महिनाको अन्त्यमा हुने उत्तर कोरियाको पार्टी कंग्रेसमा उनी भाग लिने कि नलिने भन्ने कुरामा पनि नजिकबाट निगरानी राख्ने बताएको छ । पार्टी कंग्रेस उत्तर कोरियाको सबैभन्दा ठुलो राजनीतिक कार्यक्रम हो जुन प्रत्येक पाँच वर्षमा एकपटक आयोजना गरिन्छ । पार्टी कंग्रेसमा प्योङयाङले आगामी पाँच वर्षका लागि विदेश नीति, युद्ध योजना र आणविक महत्वाकांक्षाजस्ता प्राथमिकताका बारेमा थप विवरण दिने अपेक्षा गरिएको छ ।

बिहीबार सांसद ली सेओङ–क्वेनले जु एई अब किम वंशको उत्तराधिकारी भएको पत्रकारहरूलाई जानकारी दिए । ‘किम जु एईले कोरियाली जनसेना स्थापना दिवस र कुमसुसान दरबारको भ्रमणलगायत विभिन्न कार्यक्रममा आफ्नो उपस्थिति देखाएको र केही राज्य नीतिहरूमा उनले आफ्नो विचार व्यक्त गरेको संकेत पत्ता लागेको हुनाले, एनआइएसले विश्वास गर्छ कि उनी अब उत्तराधिकारीको रूपमा तोकिएको चरणमा प्रवेश गरेकी छिन्,’ लीले भनिन् ।

सुझावित समाचार