आइसिसी पुरुष टी–२० विश्वकप : विश्वकपमा १० विकेटको नतिजा

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
आइसिसी पुरुष टी–२० विश्वकप : विश्वकपमा १० विकेटको नतिजा

१०औँ संस्करणको टी–२० विश्वकपमा नेपालमाथि १० विकेटको जितपछि इटालीका खेलाडी । फाइल तस्बिर

क्रिकेटको तीनवटै फर्म्याटमा १० विकेटको जित चानचुने होइन । यस किसिमको सफलता कमै मात्र हुन्छ । अझ विश्वकपजस्तो एकसे एक राष्ट्रहरूबिच १० विकेटको जित भनेको केही हदसम्म दुर्लभ नै मानिन्छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको १०औँ टी–२० विश्वकपमा बिहीबारसम्म दुईपटक १० विकेटको नतिजा आएका छन् । न्युजिल्यान्डले युएईलाई १० विकेटले हराएको थियो । त्यसपछि पहिलोपटक विश्वकप खेलिरहेको इटालीले आइसिसी वरीयतामा १० स्थानमाथि रहेको नेपाललाई १० विकेटले हरायो । सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा अहिलेसम्म आठ खेलमा दश विकेटको नतिजा निस्केका छन् ।

नेपालविरुद्ध इटाली 
लक्ष्य : १२४, खेल स्थान : मुम्बई (भारत)

डेब्यु विश्वकपको दोस्रो खेलमै इटालीले ऐतिहासिक जित निकाल्यो । त्यो पनि नेपालमाथि १० विकेटको सानदार । मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डविरुद्ध सनसनी प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा इटालीविरुद्ध घुँडा टेक्यो । ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन फितलो रह्यो । नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दियो । अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान र भारतीय मूलका खेलाडी समावेश गरेको इटालीले ४४ बलअघि नै जित निकाल्यो ।

युएईविरुद्ध न्युुजिल्यान्ड
लक्ष्य : १७५, खेलस्थल : चेन्नई (भारत)

चालू विश्वकपमा सबैभन्दा ठुलो जितको सुरु न्युजिल्यान्डले गरेको थियो । टेस्ट राष्ट्र न्युजिल्यान्डले युएईजस्तो एसोसिएट राष्ट्रविरुद्ध जित निकाल्न खासै संघर्ष गर्नुपरेन । यद्यपि, पहिलो ब्याटिङ गरेको युएईले चेन्नईमा १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । न्युजिल्यान्डले एक विकेट पनि नगुमाई युएईलाई हरायो । न्युजिल्यान्डको जितमा टिम सेइफर्टले ८९ तथा फिन एलेनले ८४ रन जोडेका थिए । 

अमेरिकाविरुद्ध इंग्ल्यान्ड
लक्ष्य : ११६, खेलस्थल : ब्राइटन (वेस्ट इन्डिज)

सन् २०२४ मा इंग्ल्यान्डले आयोजक अमेरिकालाई १० विकेटले हराएको थियो । बार्बाडोजमा भएको खेलमा अमेरिकाले सुरुमा ब्याटिङ गर्‍यो । सुपर ८ को समूह २ मा भएको यो विश्वकपको ४९औँ खेल थियो । इंग्ल्यान्डको जितमा तत्कालीन कप्तान जोस बटलरले ३८ बलमा ८३ रन बनाएका थिए । उनले ६ चौका र सात छक्का हिर्काए । यस्तै, फिल साल्टले २१ बलमा २५ रन बनाएका थिए । यो विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेका थिए । यद्यपि, अमेरिकाले पहिलो सहभागितामै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

भारतविरुद्ध इंग्ल्यान्ड
लक्ष्य : १६९, खेलस्थल : एडिलेड (अस्ट्रेलिया)

सन् २०२२ अस्ट्रेलियामा भएको विश्वकपमा इंग्ल्यान्डले भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्यो । एडिलेडमा भएको प्रतिस्पर्धामा भारतले सुरुमा ब्याटिङ गर्दै १६९ रनको लक्ष्य दिएको थियो । भारतका हार्दिक पान्ड्याले ६३ तथा विराट कोलहीले ५० रन बनाएका थिए । इंग्ल्यान्डले भारतलाई १० विकेटले हरायो । कप्तान जोस बटलरले ४९ बलमा नौ चौका र तीन छक्कासहित ८० रन बटुले । म्यान अफ दी म्याच एलेक्स हलले ४७ बलमा चार चौका र सात छक्कासहित ८६ रन बनाउँदा इंग्ल्यान्ड विजयी भयो । 

भारतविरुद्ध पाकिस्तान
लक्ष्य : १५२, खेलस्थल : दुबई (युएई)

सन् २०२१ मा युएईमा भएको विश्वकपमा भारतमाथि पाकिस्तानले पहिलोपटक जित निकाल्यो । जित पनि सामान्य रहेन । पाकिस्तानले विश्वकप इतिहासमै पहिलोपटक भारतलाई १० विकेटले निराश बनायो । भारतले कप्तान विराट कोहलीको अर्धशतकमा १५२ रनको लक्ष्य दियो । साहिन साह अफ्रिदीले तीन विकेट लिएका थिए । पाकिस्तानको इनिङ्समा कप्तान बाबर आजमले ६८ तथा मोहम्मद रिजवानले ७९ रन जोडेका थिए । 

पपुवा न्युगिनीविरुद्ध ओमान
लक्ष्य : १३०, खेलस्थल– ओमान

सन् २०२१ मा ओमानले समूह ‘बी’का सबै खेल घरेलु मैदानमै खेल्यो । ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पाखा लगायो । पपुवा न्युगिनीले नौ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । प्रत्युत्तरमा १३.३ ओभरमै ओमानले विकेट नगुमाई जित निकाल्यो । ओमानका जतिन्दर सिंहले ४२ बलमा ७३ रन बनाए । उनले सात चौका र चार छक्का हिर्काएका थिए । अकिब इलियासले ४३ बलमा पाँच चौका र एक छक्कासहित ५० रन जोडेका थिए । टी–२० विश्वकपमा सबैभन्दा ठुलो जित निस्किएको यो तेस्रोपटक थियो । 

जिम्बावेविरुद्ध दक्षिण अफ्रिका
लक्ष्य : ९४, खेलस्थल : श्रीलंका

सन् २०१२ श्रीलंकामा भएको विश्वकपमै जिम्बावे सबैभन्दा कम स्कोरमा समेटिएको थियो । दक्षिण अफ्रिकाविरुद्ध जिम्बावे ९३ रनमा समेटियो । समूह ‘सी’को यो खेल सो विश्वकपमै चौथो खेल थियो । जिम्बावेको इनिङ्समा दुई खेलाडीले दोहोरो अंकमा रन बनाएका थिए । प्रत्युत्तरमा दक्षिण अफ्रिकाका लागि रिचार्ड लेभीले ५० तथा हसिम अम्लाले ३२ रन बनाए । 

श्रीलंकाविरुद्ध अस्ट्रेलिया
लक्ष्य : १०२, खेलस्थल : दक्षिण अफ्रिका

सन् २००७ को विश्वकपको पहिलो संस्करणमै अस्ट्रेलियाले १० विकेटको ऐतिहासिक जित निकालेको थियो । समूह ‘एफ’मा श्रीलंकामाथिको सानदार जितपछि अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको थियो । स्टुआर्ट क्लार्कले चार विकेट लिएपछि श्रीलंकाको ब्याटिङमा कुनै उल्लेखनीय साझेदारी हुन सकेन । अस्ट्रेलियाका म्याथ्यु हेडनले अविजित ५८ रन बनाएका थिए । उनले ३८ बलमा सात चौका र दुई छक्का हिर्काए ।

See More On

सुझावित समाचार