राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने आज पाल्पा आउने भएका छन् । पार्टीको केन्द्रीय अभियानअन्तर्गत विभिन्न जिल्लामा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहेका लामिछाने सोही क्रममा पाल्पा आउन लागेका हुन्। उनको आगमनलाई लिएर जिल्लामा राजनीतिक चहलपहल बढेको छ भने पार्टी कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।
रास्वपा पाल्पाका जिल्ला सभापति विष्णु भण्डारीका अनुसार लामिछाने आज दिउँसो ४ बजे रामपुर आइपुग्ने कार्यक्रम तय भएको छ। त्यसपछि साँझ ६ बजे तानसेन पुग्ने कार्यतालिका रहेको छ । तानसेनस्थित टुँडिखेलमा शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाटको कार्यक्रम राखिएको छ। जिल्ला सभापति भण्डारीले भने, ‘केन्द्रीय सभापति रवि लामिछानेज्यूको आज पाल्पा आगमन हुने निश्चित भएको छ। दिउँसो रामपुर र साँझ तानसेनमा भेटघाट कार्यक्रम तय गरिएको छ। सम्पूर्ण शुभेच्छुक तथा समर्थकहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौँ।’
लामिछानेले फागुन १ गते बिहान ८ बजे तानसेनस्थित शीतलपाटीमा पनि शुभेच्छुकहरूसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। सोही दिन उनले शक्ति केन्द्रका रूपमा परिचित श्री ७ रणउजिरेश्वर भगवती मन्दिरमा दर्शन गर्नेछन् । त्यसपश्चात् हार्थोक बजार र अर्गली क्षेत्रमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यसूची रहेको छ।