२१ फागुनको निर्वाचन नजिकिँदै जाँदा एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा चुनावी माहोल ह्वात्तै बढेको छ । यसपटक पुराना ठुला दलभन्दा नयाँ दलको चर्चा बढी हुन थालेको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्पमा आएका नयाँ पार्टी रास्वपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चर्चा हुन थालेको छ ।
०८४ मा हुनुपर्ने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गत २३ र २४ भदौको जेन–जी आन्दोलनले करिब दुई वर्षअगाडि नै हुन लागेको हो । विगतमा संखुवासभामा कांग्रेस र एमालेले चुनाव जित्दै आएका थिए । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू गाउँ–गाउँमा भेटिन थालेका छन् । बजार र चोक बसेर चुनावी गफ गर्नेहरू नयाँले बजार तताएको बताउँछन् । जेन–जी आन्दोलनपछि उदाएका नयाँ दलहरू बढी सक्रिय भएका छन् । मुलुकको विकास र समृद्धिका लागि आफूहरू लागिरहेको उनीहरूको भनाइ छ । नयाँ पार्टीले विभिन्न नयाँ–नयाँ घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गरेसँगै पुराना राजनीतिक दलहरूलाई दबाब सिर्जना भएको छ । त्यसैले पुराना ठुला दल कांग्रेस, एमाले, नेकपा र राप्रपालगायत पार्टीले समेत नयाँ अनुहारलाई मैदानमा उतारेका छन् ।
कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, एमालेबाट डा. अर्जुनकुमार कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदमबहादुर तामाङ चुनावी मैदानमा छन् । यी सबै नयाँ अनुहार हुन् । पछिल्लो समय उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा, श्रम संस्कृति पार्टीबाट उमादेवी राई र राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका घनश्याम वालिङ राई चुनावी घोषणापत्र बोकेर गाउँ–गाउँमा भोट माग्न व्यस्त छन् । नेपाल मजदुर किसान पार्टीबाट राजकुमार लघू, मंगोल अर्गनाइजेसनबाट देवेन्द्र रिल्ली घले, नेकपा (माओवादी) बाट पुष्पबहादुर कोइराला, जसपा नेपालबाट भरतकुमार राई, नेपाल जनमुक्ति पार्टीबाट केशरसिंह राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनमाया राई, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट कृष्णबहादुर राई, राष्ट्रिय जनमोर्चा पार्टीबाट हेमकुमार गुरुङ गाउँबस्तीमा आफ्ना एजेन्डा सुनाउँदै हिँडेका छन् । संखुवासभामा १५ वटा दल र मादी नगरपालिका– ४ का वासुदेव दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बालेन रास्वपा प्रवेश गरेपछि चर्चा चुलियो
पछिल्लो समय संखुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा बढेको छ । सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह बालेन रास्वपा प्रवेश गरेपछि चर्चा चुलिएको हो । रास्वपाबाट मिङ्मा शेर्पा उम्मेदवार बनेका छन् । पर्यटन व्यवसायमा आबद्ध शेर्पा कांग्रेसबाट टिकट नपाउने भएपछि रास्वपा प्रवेश गरेका हुन् ।
पछिल्लो समय धरान उपमहानगरपालिकाको मेयर जितेर उदाएका हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले पूर्वी क्षेत्रमा माहोल बढाउँदै लगेको छ । श्रम संस्कृति पार्टीबाट संखुवासभाबाट उमादेवी राई उम्मेदवार छिन् । पूर्वी क्षेत्र बलियो पकड बनाएको श्रम संस्कृति पार्टीले मुलुकको अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
जेन–जी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेल केन्द्रीय अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टी पछिल्लो समय उदाएको पार्टी हो । संखुवासभामा राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई उम्मेदवार छन् । मुलुकको परिवर्तनका लागि खुट्टा गुमाएका पोर्तेल पार्टी खोलेर चुनावी मैदानमा उत्रिएका हुन् । केन्द्रीय अध्यक्ष पोर्तेलले संखुवासभा आएर भोट माग्नुका साथै संगठन विस्तारको औपचारिक घोषणा गरेका थिए ।
१५ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जनाबिच प्रतिस्पर्धा भए पनि मुख्यतः चार पार्टीबिच नै भिडन्त हुने देखिएको छ । कांग्रेस, एमाले र नेकपालाई रास्वपाले टक्कर दिने मतदाता बताउँछन् । ०७९ को निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसका दीपक खड्का ३२ हजार १६१ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र गौतमले २६ हजार ७२१ मत प्राप्त गरेका थिए । पाँच हजार ४४० मतान्तरले कांग्रेसका खड्का विजयी बनेका थिए । त्यतिवेला कांग्रेस र तत्कालीन माओवादीबिच गठबन्धन भएको थियो । समानुपातिक मततर्फ एमालेले २४ हजार ९४८ मत प्राप्त गरेको छ । कांग्रेसले २२ हजार ७३१, तत्कालीन माओवादीले ६ हजार ३५८ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फको मत हेर्दा एमाले संखुवासभामा संगठनात्मक रूपमा बलियो देखिन्छ ।
अहिले नयाँ पार्टीका रूपमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ०७९ मा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो । त्यतिवेला रास्वपाका उम्मेदवार भक्तनारायण श्रेष्ठले एक हजार १३६ मत प्राप्त गरेका थिए । संखुवासभामा एक लाख १९ हजार ६३० मतदाता छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।