सामाजिक सञ्जालमा मिथ्या सामग्रीको दुष्प्रचार भएपछि दुई उम्मेदवारले प्रहरीमा उजुरी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा रोल्पाका उम्मेदवार वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले उजुरी दिएका हुन् ।
धर्मसँग जोडेर वाग्लेको विषयमा सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै उनले उजुरी दिएका हुन् । त्यस्तै, नक्कली घोषणापत्र बनाएर प्रचार गरेपछि पुनले उजुरी गरेका हुन् । दुवै उम्मेदवारको उजुरीमा छानबिन भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
उता निर्वाचन आचारसंहिताको उल्लंघनकै आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनलाई शुक्रबार दिउँसो चाल्नाखेलबाट पक्राउ गरेको हो । निर्वाचन आयोगबाट आएको पत्रका आधारमा उनलाई पक्राउ गरी साइबर अपराधको कसुरमा कारबाही अघि बढाइएको ब्युरोका एसपी अवस्थीले बताए ।