भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी)ले गत डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालमा निपाह भाइरस रोगका जम्मा दुईवटा मात्र पुष्टि भएको शनिबार जनाएको छ । पछिल्लो समय सञ्चारमाध्यममा निपाह भाइरस सम्बन्धी अनुमानित र गलत तथ्यांकहरू प्रचार भइरहेको भन्दै एनसीडीसीले शनिबार प्रष्टिकरण दिएको हो। निपाह भाइरस फैलिन सक्ने त्रासका कारण पश्चिम बंगाल जोडिएका पूर्वी नेपालका नाकामा सतर्कता अपनाइएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत सरकार अन्तर्गतको एनसीडीसीबाट प्राप्त प्रतिवेदनअनुसार पश्चिम बंगाल बाहेक अन्य कुनै स्थानमा निपाह भाइरसका नयाँ केस पुष्टि भएका छैनन्। दुई वटा केस पुष्टि भएपछि भारत सरकार र पश्चिम बंगाल सरकारबीच समन्वय गर्दै निर्धारित प्रोटोकलअनुसार तत्काल र व्यापक जनस्वास्थ्य उपायहरू अपनाइएको जनाइएको छ।
यस क्रममा ती केसहरूसँग सम्बन्धित १९६ जना सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान,ट्रेसिङ,निगरानी तथा परीक्षण गरिएको छ। सबै सम्पर्कमा आएका व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको र परीक्षणमा निपाह भाइरस निगेटिभ रिपोर आएको एनसीडीसीले जनाएको छ।
केन्द्रीय र प्रदेशस्तरीय स्वास्थ्य निकायहरूको समन्वित प्रयासमा निगरानी प्रणाली सुदृढ पारिएको, प्रयोगशाला परीक्षण तथा फिल्ड अनुसन्धान तीव्र रूपमा सञ्चालन गरिएको जनाइएको छ। संक्रमण फैलिन नपाउँदै निपाहा भाइरस नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। हालसम्म थप कुनै निपाह भाइरस रोगका केस फेला परेका छैनन्। संक्रमित सबैकाे स्वास्थ्य अवस्था निरन्तर निगरानीमा रहेको र आवश्यक सबै जनस्वास्थ्य सुरक्षात्मक उपायहरू कार्यान्वयनमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सर्वसाधारण तथा सञ्चारमाध्यमलाई आधिकारिक निकायबाट जारी हुने प्रमाणित सूचनामा मात्र भरोसा गर्न र अप्रमाणित वा अनुमानमा आधारित समाचारहरू नफैलाउन समेत आग्रह गरेको छ।