नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष निर्वाचन भए आफ्नो दल पहिलो ठुलो पार्टी बन्न सक्ने बताएका छन् । नेकपा रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफू चुनाव जित्नका लागि नभएर समाजवादको मोडेल निर्माण गर्न रुकुम पूर्व गएको जिकिर गरेका हुन् ।
‘स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ । देश हामीले भनेतिरै गइरहेको छ,’ प्रचण्डले भने, ‘मैले के देखेको छु भने नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ, तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मिहिनेत गर्यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ ।’
उनले देश निर्वाचनको माहोलमा गइसके पनि नकारात्मक प्रचार भइरहेको टिप्पणी गरे । ‘एकथरी मानिसले अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेका छन् र अर्काथरिले निर्वाचनलाई नै कब्जा गर्न खोजिरहेका छन्,’ उनले भने । प्रचण्डले जडीबुटी उत्पादन, पर्यटन प्रवद्र्धन, अर्गानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई स्वदेशमै रोजगारी दिने बताए । ‘उत्पादनमुखी अर्थतन्त्र नै समाजवादको वास्तविक आधार हुनेछ । समाजवादको आधार तयार गर्न म रुकुम पूर्व गएको हुँ,’ प्रचण्डले भने । उनले रुकुम पूर्वबाट विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल स्थापना गर्ने पनि प्रतिबद्धता जनाए ।