उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका कारण पार्टीले धेरै घाटा व्यहोरेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा घिसिङले रास्वपाको नाम नलिई पार्टी गठनको तीन महिनामा १२ दिन पार्टी कोमामा पुगेको टिप्पणी गरेका हुन्।
‘पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन। बिचमा हामी १२ दिनको कोमामा गयौँ। १२ दिनको कोमाका कारण हामीलाई धेरै घाटा पनि भयो। तर, त्यो कोमाबाट तन्दुरुस्त भएर आएका छौँ। अब उज्यालो नेपाल पार्टी देशको नेतृत्व गर्न अगाडि बढ्छ,’ उनले भने।
रास्वपा र उज्यालो नेपालबिच १४ पुसमा भएको एकीकरणसम्बन्धी सातबुँदे सहमति २६ पुसमा भाँडिएको थियो। त्यसपछि घिसिङ उज्यालो नेपालबाटै काठमाडौं ३ मा उम्मेदवार बनेका छन्।
अध्यक्ष घिसिङले अब उज्यालो नेपालको नाम र चिह्न विलय हुने गरी अन्य पार्टीमा एकता वा समाहित हुन नजाने प्रस्ट पारे। उनले भने, ‘अब कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिने, एकता भएर नाम र चिह्नलाई कुनै पनि हालतमा विलय हुन दिनेछैनौँ। अरू पार्टी मिसिन आउन सक्छन्, तर यो पार्टी मिसिन जाँदैन।’