शुद्धीकरण अभियानअन्तर्गत एकैपटक ८२ प्रहरी तानिए

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

लामो समयदेखि एउटै कार्यालयमा पहुँचका आधारमा बस्दै आएका ८२ जना प्रहरी एकैपटक तानिएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिरहेको छ ।

यसरी तानिनेहरूमा धेरैजसो सादा पोसाकमा काम गर्ने तल्लो दर्जाका प्रहरीहरू छन् । शुद्धीकरण अभियानअन्तर्गत उजुरी र अनुगमनका आधारमा प्रहरीलाई तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसरी प्रधान कार्यालय तानिनेमा धेरै तराईका जिल्लामा कार्यरत छन् । त्यसमा पनि मधेश प्रदेशका धेरै छन् ।

प्रहरीमा सुधारको अभियानअन्तर्गत ८२ जनालाई तानेर छानबिन भइरहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । ‘अनुगमनका कैफियत देखिएका र उजुरी आएका प्रहरीलाई झिकाएर छानबिन भइरहेको छ,’ उनले भने, ‘यो आन्तरिक शुद्धीकरणको कदम हो, दोषी देखिए कारबाही हुन्छ, नदेखिए काममा फर्काइनेछ ।’

प्रहरीको सुपरिवेक्षण तथा अनुगमन महाशाखाले छानबिन गरिरहेको छ । छानबिनमा तानिनेमा केही काठमाडौं उपत्यकामा कार्यरत छन् । छानबिनमा तानिएपछि केही प्रहरीले राजीनामासमेत दिएको स्रोत बताउँछ ।

‘केही प्रहरी एउटै मुद्दा शाखामा आठ वर्षदेखि काम गरेको देखियो,’ प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘केही ट्राफिकको तालिमसमेत नलिई पनि ट्राफिक व्यवस्थापनमा खटाइएको पाइयो ।’ छानबिनमा तल्लो तहका तानिए पनि उनीहरूलाई परिचालन गर्ने माथिल्लो तहका अधिकृतहरूमाथि भने छानबिन हुन सकेको छैन । 

See More On

सुझावित समाचार