नेकपाबाट गजुरेलसहित सातजना निष्कासन

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेवारविरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहितका नेतालाई निष्कासन गरेको हो । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी सिन्धुलीका गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई अनुशासनको कारबाही गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ । 

सिन्धुली २ मा नेकपाले लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ । तर, महेश्वर दाहाल बागी उम्मेदवार बनेका थिए । उम्मेदवारी फिर्ता लिन प्रचण्ड र नेपालले निर्देशन दिएका थिए । तर, फिर्ता नलिएपछि उनीहरूलाई कारबाही गरिएको नेकपाले जनाएको छ । 

दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीबाट निस्कासन गरिएको हो । धर्मनाथ साह एमालेबाट उम्मेदवार बनेका छन् ।

नेकपाका संयोजक प्रचण्डले देशलाई संकटबाट मुक्त गराउन नेकपालाई बलियो शक्तिको रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । लेखक, विश्लेषक युग पाठकलाई शनिबार पार्टी प्रवेश गराउँदै उनले निष्पक्ष निर्वाचन गराई नेकपालाई बलियो बनाउनुपर्नेमा जोड दिए । समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । ‘निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ । अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गर्न लागौँ । जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ,’ उनले भने । नेकपामा पार्टी प्रवेशको लहर चलेको दाबी गर्दै सशक्त रूपमा अघि बढ्ने उनले बताए । निर्वाचनमा हुने अवाञ्छित गतिविधि रोक्न सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

See More On

सुझावित समाचार