दुबईमा राम्रो कलेजमा पढाइदिने भन्दै प्रतिविद्यार्थी २२ लाखसम्म असुलेर ठगी

प्रतिबद्धताविपरीत सामान्य इन्स्टिच्युटमा भर्ना गरिदिएपछि पीडित ३५ विद्यार्थीले स्वदेश फर्किएर दिए उजुरी, ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

उच्च शिक्षाका नाममा आठ लाखदेखि २२ लाखसम्म असुलेर विद्यार्थीलाई दुबई पुर्याई अलपत्र पारेको आरोपमा काठमाडौंका ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । ठगिएका ३५ विद्यार्थीले उजुरी दिएपछि बेस्ट पाथ एजुकेसनका २९ वर्षीय कृष्ण थापा, कान्तिपुर अब्रोड कन्सल्टेन्सीका सञ्चालकद्वय ४८ वर्षीय हेमराज भट्ट र ४८ वर्षकै दामोदर ढकाल, मर्करी एजुकेसनका रामचन्द्र टन्डन, सिटीहब एजुकेसनका ३१ वर्षीय सुवास सिलवाल र अर्का एक सञ्चालकलाई सिआइबीले पक्राउ गरेको हो ।

सिआइबीका अनुसार पीडितको उजुरी आउने क्रम जारी छ । संयुक्त अरब इमिरेट्स (युएई)का कलेजमा अध्ययन गर्न पठाउने प्रलोभनमा यी कन्सल्टेन्सीले प्रतिविद्यार्थी आठ लाखदेखि २२ लाखसम्म उठाएको पीडितले बताएका छन् । यस विषयमा सिआइबीले दुई सातदेखि अनुसन्धान गरिरहेको छ ।

‘दुबईका विभिन्न कलेजमा नेपाली विद्यार्थीलाई महँगो शुल्क असुलेर लैजाने, तर प्रतिबद्धता पूरा नगर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । उनीहरूविरुद्ध ३५ भन्दा धेरै विद्यार्थीले उजुरी दिएका छन् । घटनालाई सिआइबीले गम्भीर रूपमा लिएको छ, अनुसन्धान जारी छ,’ सिआइबी प्रमुख एआइजी डा. मनोज केसीले भने । पीडितहरू नेपाल फर्किएर प्रहरीको शरणमा पुगेका हुन् ।

प्रहरीका अनुसार ती कन्सल्टेन्सीले युएईमा बेलायत, फ्रान्स, अस्ट्रेलियाका स्थापित विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कजेल रहेको र उक्त कलेजमा अध्ययन गराइदिने भन्दै प्रलोभन बाँडेका थिए । उक्त कलेजमा क्रेडिट ट्रान्सफर हुने एकेडेमिक कोर्ससमेत रहेको बताएका थिए । तर, सामान्य ट्रेनिङ इन्स्टिच्युटमा भर्ना गरेर भविष्यमाथि खेलबाड गरेका थिए ।

‘पूर्वसहमतिअनुसार उनीहरूले विद्यार्थीलाई युएई त लैजान्थे, तर त्यहाँ बेलायत, फ्रान्स, अस्ट्रेलियाका स्थापित विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कजेलमा नभई सामान्य ट्रेनिङ इन्स्टिच्युटमा भर्ना गराउँथे,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘ती इन्स्टिच्युट यस्ता थिए, जसले युएईस्थित कमिसन फर एकेडेमिक एक्रेडिसन (सिएए)बाट समेत अनुमति लिएका थिएनन् ।’ सिएए युएईस्थित शिक्षा मन्त्रालयअन्तर्गतको सरकारी निकाय हो । जसले शैक्षिक संस्था सञ्चालनका लागि अनुमति दिने गर्छ । 

अध्ययनमा गएका विद्यार्थी यसको भेद थाहा पाएपछि गुनासो गर्न काठमाडौंस्थित सम्बन्धित कन्सल्टेन्सीमा पुगेका थिए । तर, कन्सल्टेन्सीका सञ्चालकले गैरजिम्मेवार जवाफ दिएपछि उनीहरू जाहेरी लिएर सिआइबी पुगेका थिए । सोही जाहेरीका आधारमा ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ परेको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

‘दुबईमा रहेको शैक्षिक संस्थामा अध्ययन गराउन भन्दै काठमाडौंका कन्सल्टेन्सीले विद्यार्थीबाट रकम असुल्छन् । उनीहरूले विद्यार्थीलाई दुबई त लगे, तर प्रलोभन दिँदा भनेजस्तो शैक्षिक संस्थामा भर्ना गरिदिएनन् । ठगिएको महसुस गरेपछि पीडित विद्यार्थी सिआइबीमा आए । त्यसपछि सञ्चालकलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

सुझावित समाचार