नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका सिराहाका पूर्वमन्त्री धर्मनाथ साहसहित सातजनालाई कारबाही गरेको छ । पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै सिराहा क्षेत्र नम्बर ४ मा पार्टी उम्मेदवारविरुद्ध अर्को पार्टीवाट उम्मेदवार बनेका पूर्वमन्त्री धर्मनाथ साहलाई कारबाही गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवार पूर्वमन्त्री अजय शंकर नायक ‘अभिनाश’विरुद्ध नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्वमन्त्री साहलाई कारबाही गरिएको हो । साहसँगै राजकुमारी साह र जीवछ साहलाई पनि कारबाही गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको छ। ’
कारबाहीमा पर्नेमा नेता हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ) र मेजर राई (उदयपुर) रहेका छन् । विज्ञप्तिमा संयोजक पुष्प कमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको छ ।
