म १२–१३ वर्षको उमेरदेखि नै वीर अस्पताल जान्थेँ । त्यतिवेला बुबाले केही पैसा दिएर पठाउनुहुन्थ्यो । मैले गाउँगाउँबाट आएका बिरामीलाई सकेको सहयोग गर्थेँ । यो आजभन्दा ४०–४५ वर्षअघिको कुरा हो । उनीहरू गाउँबाट पैदल हिँडेर आउँथे । मुस्किलले उपचार पाउँथे । अहिले व्यवस्था परिवर्तन भयो । समय परिवर्तन भयो । सरहमा जनसंख्या बढ्यो । तर, मानवीयता सकियो ।
जाडो दुर्गमको कहर
जाडो महिनामा जलनका बिरामीले कीर्तिपुर अस्पताल भरिन्छ । हिउँद लाग्यो कि मलाई चिन्ता लाग्छ । अस्पतालमा अधिकांश दुर्गम गाउँका बिरामीहरू आउँछन् । तातो बस्नलाई उनीहरूले आगो ताप्छन्, त्यही क्रममा आगो शरीरमा सल्किन्छ । अधिकांश ग्रामीण क्षेत्रका मान्छे जलेर आउँछन् । जाडो गरिबका लागि कहर बनेको छ । विशेषगरी तराईका महिलाहरू जलनबाट पीडित छन् । उनीहरूले साडी लगाएर भान्सामा बस्नुपर्ने हुन्छ । साडीबाहेक अरू कपडा लगाउँन दिइँदैन । त्यसैले गर्दा पनि उनीहरूलाई आगोले भेट्छ ।
जलन भएपछि कस्ता जोखिम आउँछन् भन्ने सबैलाई थाहा छैन । नेपालमा यतिका ठुलो घटनाहरू भए पनि गम्भीर छैनन् । जलन अस्पतालका लागि वार्षिक बजेट कति छुट्याइन्छ ? कसैलाई थाहा छैन । राज्यले जलन हेरेको छैन । मानिसको शरीरमा जलन भएपछि त्यसको दीर्घकालीन उपचार जरुरी हुन्छ । यो आफैँमा महँगो उपचार पनि हो । कतिपय मान्छेसँग अस्पतालमा औषधि किन्ने पैसासमेत हुन्न ।
केही समयअघि अस्पतालमा २५–२६ वर्षकी आमा जलेको बच्चालाई कुरेर बसिरहेकी थिइन् । उनको कुर्तासुरुवाल रगतले भिजेको थियो । सायद उनीसँग स्यानेटरी प्याड किन्ने पैसासमेत थिएन । मेरो खल्तीमा भएको दुई हजार रुपैयाँ दिएँ । अर्काे एक दिन आफ्नो श्रीमती जलेर खाटमै दिसापिसाब गरिरहेकी छिन्, श्रीमान्सँग डाइपर किन्ने पैसा छैन । हामी यस्तो देशको नागरिक हौँ । यस्तो देख्दा र सुनाउँदा मलाई लाज लाग्छ । त्यसपछि स्यानिटरी प्याड र डाइपर संकलन सुरु गर्यौँ । कीर्तिपुर अस्पताल गयौँ भने त्यहाँ सिंगो नेपाल देखिन्छ । हामी चिल्लो सडक, ठुला भवन, उज्यालोलाई मात्रै देश ठान्छौँ । तर, अस्पताल जाँदा सिंगो मुलुक देखिन्छ । उपचार नपाएर छटपाइरहेका बिरामी हुन्छन् । त्यति मात्रै होइन, उनीहरू भाषा बुझ्दैनन् । उपचार गर्ने पैसा हुँदैन । त्यस्ता मान्छेहरू कसरी बाँचिरहेका होलान् ? राज्यले कहिल्यै सोचेको छैन । सहरमा उनीहरूले चरम दु:ख पाइरहेका हुन्छन् । देश बनाउँछु भन्नेहरू एकपटक कीर्तिपुर अस्पताल मात्रै गएर हेर ।
फायर सेफ्टीमा शून्य
काठमाडौं उपत्यकालाई ‘टाइम बम’को रूपमा लिन्छु । घना बस्तीबीच पेट्रोल पम्प, ग्यास पसल, कमजोर वायरिङ छ । यी आफैँमा जोखिमपूर्ण छ । फायर सेफ्टीविना पार्टी प्यालेस सञ्चालनमा छन् । त्यस्ता पार्टी प्यालेसहरू कसरी सञ्चालन भइरहेका छन् ? तिनलाई ‘लाइसेन्स’ दिने निकाय कस्ता होलान् ? ट्याक्स उठाउनमै सीमित छन् । ट्याक्स तिरे पनि सजिलै लाइसेन्स दिइन्छ । फायर सेफ्टी जाँच नगरी लाइसेन्स दिइन्छ । बाहिरी सजावट हेरेर हामी रमाउँछौँ, भित्रको सुरक्षा कसैले हेर्दैन । बाहिरी सुन्दरता मात्र हेर्ने हाम्रो समाज भयो । फायर सेफ्टी जिरो छ । घटनामा भयो उपचार केन्द्र खोइ ? काठमाडौं उपत्यकाको जनसंख्या विशाल छ । जलन अस्पतालको बेड छैन । दुर्घटना हुँदा कहाँ लगेर उपचार गर्ने ? जलनका उपचार गर्ने डाक्टर खोइ ? राज्यले यो कुरा बुझेकै छैन ।
जलनको बिरामीलाई कुनै एउटा संघसंस्था वा व्यक्तिले हेरेर पुग्दैन । त्यस्ता बिरामीलाई राज्यले हेर्नुपर्छ । ग्रामीण क्षेत्रका जलन बिरामीको उपचार पहुँच अझै छैन । बाटोमा ल्याउँदाल्याउँदै मृत्यु हुन्छ । काठमाडौं ल्याउँदा इन्फेक्सन भएर घाउ ठुलो भइसकेको हुन्छ । ग्रामीण क्षेत्रमा जलन अस्पताल छैन, त्यसमाथि जलनसम्बन्धी सचेतना पनि छैन ।
जलन कुनै प्राकृतिक विपत्ति होइन, यो मानव सिर्जित समस्या हो । दु:खको कुरा, २१औँ शताब्दीमा आइपुग्दा पनि हामीले जलनको समाधान खोज्न सकेका छैनौँ । नेपालमा क्यान्सर, मुटु, मिर्गाैलाजस्ता रोगलाई राज्यले प्राथमिकतामा राखे पनि जलन दुर्घटनालाई अझै ‘दुर्घटना’कै रूपमा सीमित राखेको छ । शिक्षित वर्गलाई लाग्छ, जलन हामीलाई हुँदैन । ‘हामी पर्दैनौँ’ भन्ने स्वार्थी सोच छ । जबसम्म आफूलाई समस्या पर्दैन, तबसम्म सम्बोधन गरिँदैन । नीति बनाउने, ठुलाबडा, पैसा भएका मानिसरुलाई जलन के हो थाहा छैन । त्यसैले जलनको बिरामी प्राथमिकतामा पर्दैन । मुटु र क्यान्सर किन प्राथमिकतामा पर्छ ? किनकि निर्णय गर्नेहरूलाई लाग्छ, यो मलाई र मेरा आमाबुबालाई हुन सक्छ । तर, जलन हामीलाई पर्दैन भन्ने सोच छ । यसलाई अमानवीय सोच नभने के भन्ने ?
राज्यले जलनको पीडा बुझेकै छैन । यो बुझ्न नचाहेको समस्या हो । जलन जानीजानी गरिएको नरसंहार हो । नरसंहार अपराध हो । देशको सम्पत्ति भनेको नागरिकको ज्यान हो । हरेक वर्ष मान्छे जल्छन्, मर्छन् । राज्यलाई सबै थाहा छ । तर, उपचार केन्द्र कस्तो छ ? अस्पताल कस्तो छ ? कहिल्यै हेर्दैन, बुझ्दैन ।
कति सरकार फेरिए । कति व्यवस्था फेरिए । कति राजनीतिक पार्टी आए गए । तर, जलन अस्पतालको लागि कसैले गम्भीर भएर सोचेनन् । उनीहरूमा सोच परिवर्तन भएको छैन । आज स्वास्थ्य क्षेत्र काहालीलाग्दो अवस्थामा छ । जलनको पीडा न समाजले बुझ्यो, न राज्यले ।
हामीले बाहिरी संरचना बनायौँ । काठमाडौं नगरपालिकाले उज्यालो लाइट हालेको छ । सहरलाई उज्यालो बनाएको छ । सहर सफा बनाउनु, लाइट हाल्नु नराम्रो होइन । तर, उपचार नपार्इं नागरिकले ज्यान गुमाइरहेका छन् । उपचार नपाएर नागरिकले ज्यान गुमाउनु नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भइरहको छ ।
जलनका बिरामी हप्तौँ तड्पिन्छन् । उपचार नभएपछि मृत्यु हुन्छ । त्यो पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । उपचारका लागि मान्छे अमेरिका, बेलायत किन जान्छन् ? यहाँ आपत पर्दा यो देशको नागरिक भएकोमा लाज लाग्छ । भारतलगायत देशमा जलनको उपचार नि:शुल्क छ । अधिकांश देशमा एम्बुलेन्स सेवा छ । तर, हाम्रो राज्यले के गर्यो ? यहाँ गफ दिइन्छ, स्टन्ट गरिन्छ । एम्बुलेन्सको साइरन सुन्दा बाटो छोड्ने संस्कारसमेत छैन ।
जलन अस्पतालका लागि वार्षिक १०० करोड रुपैयाँ बजेट छुट्याइयो भने हजारौँ नेपालीको ज्यान जोगिन सक्छ । जलन अस्पतालमा जनशक्तिको अभाव हुँदै छ । किनभने बिरामीको उपचार गर्न कठिन हुन्छ । नर्सहरूले बिरामीको पीडा खप्न नसकेर पनि छोड्दै छन् । अर्काे हाम्रोमा विज्ञ डाक्टरको अभाव छ ।
कानुन र प्राथमिकताको प्रश्न
अहिले एसिड आक्रमणको घटना कम भएको छ । एसिडक आक्रमणको कानुन बलियो बनायौँ । तर, जलनको अपराधविरुद्धको कानुन बनाउनुपर्छ । जलाउने वस्तु जे भए पनि अपराध एउटै हो । सजाय एउटै हुनुपर्छ । एसिड आक्रमण घट्नु उपलब्धि हो । तर, जलाउने अपराध सिफ्ट भएको छ । मैले पहिल्यै भनेको थिएँ, तेजाब होइन आक्रमणको मात्र होइन, समग्र जलन अपराधविरुद्धको कानुन बनाउनुपर्छ । मट्टितेल, पेट्रोल, तेजाब, आगोले जलाउनु पनि एउटै अपराध हो । सजाय एउटै हुनुपर्छ ।