भदौ २३ र २४ का घटना ओली सरकारको असावधानीको परिणाम : योगेश भट्टराई

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले भदौ २३ र २४ गतेका घटनालाई तत्कालीन सरकारको असावधानी, कमजोर सुरक्षा व्यवस्थापन र राजनीतिक दूरदृष्टिको अभावको परिणाम भएको बताएका छन्।

ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार क्षितिज थेबेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन फुङलिङ आएका भट्टराईले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सुरक्षा फौजको सही ढंगले परिचालन हुन नसक्दा र आन्दोलनरत पक्षसँग वार्ताप्रति सरकार उदासीन हुँदा अवस्था नियन्त्रण बाहिर गएको बताए। सोही कारण नवयुवाहरूले ज्यान गुमाउनु परेको उनले प्रस्ट्याए।

भट्टराईले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनियोजित विध्वंसको संज्ञा दिँदै भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर संसद्मार्फत सरकार गठनको प्रक्रिया अघि बढाएको भए संसद् जोगिने अवस्था रहेको दाबी गरे। आफू पनि ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार बन्न इच्छुक रहे अब थेबे एमालेको साझा उम्मेदवार भएको बताए। मुलुक निर्वाचनमा होमिएको अवस्थामा पार्र्टी निर्णयभन्दा माथि व्यक्तिगत चाहना नहुने उनको भनाइ छ।

अनेरास्ववियुको अध्यक्ष देखि एमालेको उपमहासचिवसम्मको यात्रामा आफूले तीन विषयमा असहमति राखेको स्मरण गर्दै भट्टराईले ती असहमति पार्टी जीवनका अमूल्य सम्पत्ति भएको बताए। उनका अनुसार महाकाली सन्धि, २०७७ पुस ५ को संसद् विघटन र यसपटकको उम्मेदवार छनोट प्रक्रियामा उनले असहमति जनाएका थिए। उम्मेदवार छनोटसम्बन्धी असहमति लिखित रूपमै पार्टीमा दर्ता गराएको उल्लेख गर्दै भट्टराईले यसको समीक्षा अहिलेको निर्वाचनकालीन अवस्थामा उपयुक्त नहुने बताए। निर्वाचनपछि मात्र त्यसबारे गम्भीर समीक्षा हुने उनको भनाइ छ।

भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री ओलीको उचित सावधानीका कारण भदौ २३ र २४ का घटनाबीच पनि संविधान, स्वाधीनता र सार्वभौमिकता ठूलो क्षतिबाट जोगिएको दाबी गरे। भट्टराईले वर्तमान सरकारलाई संविधानले नचिन्ने दाबी गर्दै भदौ २३ मै प्रधानमन्त्रीले संसदमार्फत समाधान खोजेको भए राजनीतिक संकट गहिरिएको नहुने धारणा व्यक्त गरे।

सुझावित समाचार