२१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाललाई पहिलो खेपमा ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन दिएको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहमा कार्यवाहक भारतीय राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारलाई पहिलो हिस्साका रूपमा सवारीसाधन दिइएको र सवारीसाधन आउने क्रममा रहेको भारतीय दूतावासले जनाएको छ । मंगलबार पिकअप सवारीसाधन र अन्य सामग्री पनि गृह मन्त्रालयले प्राप्त गरेको छ ।
गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारीसाधन तथा सामग्रीका लागि भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । नेपाल सरकारको अनुरोधमा भारतले ०६५ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ ।
भारतले हालसम्म निर्वाचन आयोगलगायत नेपालका विभिन्न मन्त्रालय र विभागका लागि उपहारस्वरूप लगभग २४ सय सवारीसाधन उपलब्ध गराइसकेको छ । आगामी निर्वाचनका लागि भारतले करिब ६५० सवारीसाधन उपलब्ध गराउन लागेको छ ।